नेकपा एमालेका सांसद ऐन महरले पूर्वसरकार प्रमुखमाथि प्रतिशोधको व्यवहार नगर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै साध्ने हो भने 'डोको सुरक्षित राख्न' चेतावनी दिए।
उनले मौजुदा सरकार पनि पूर्व हुने र प्रतिशोधको पुनरावृत्ति हुनसक्ने चेतावनी दिएका हुन्।
‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले बडो गैरकानुनी र गैरन्यायिक ढंगले पक्राउ गरेको छ। यो पक्राउ नेपालको संविधानको भाग ३ अन्तर्गत रहेको मौलिक हकको धारा १६, १७, १८ को विरूद्धमा त छ नै, संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्र १९४८ को धारा ९ र १० को विपरीत छ। त्यसकारण म आग्रह गर्न चाहन्छु– पूर्वाग्रह र प्रतिशोधको राजनीति बन्द गरियोस्। उहाँहरूको अविलम्ब रिहा होस्,’ उनले भने।
यस प्रकारको पूर्वाग्रह र प्रतिशोधको राजनीतिक बन्द गरिनुपर्ने उनको भनाइ छ।
‘पूर्वाग्रह र प्रतिशोधको राजनीति लोकतन्त्रको शत्रु हो। लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुनु हुँदैन। कानुनी शासन स्थापना गर्नका लागि पनि नागरिकलाई समान व्यवहार गर्नुपर्छ। पूर्वसरकार प्रमुखमाथि पूर्वाग्रह साध्ने हो भने डोको सुरक्षित राख्नुहोला। तपार्ईंहरू पनि पूर्व हुनुहुन्छ,’ उनले भने।
उनले डोलप्रसाद अर्याल (डिपी) लाई सभामुख निर्वाचित भएकोमा बधाई र शुभकामना दिएका थिए।
एमाले सांसद महरले विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन नगर्न पनि भनेका थिए।