प्रतिनिधिसभाको सोमबारको बैठक सुरू हुँदै गर्दा एउटा चिज अघिल्लो दिनभन्दा फरक थियो।
अघिल्लो दिन जुन कुर्सीमा बसेर ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले बैठक सञ्चालन गरेका थिए, त्यो कुर्सी सोमबारको बैठकमा थिएन।
नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले सञ्चालन गरेको पहिलो दिनको संसद बैठकमा उनको कुर्सी फेरिएको मात्र होइन, त्यसको डिजाइन पनि अघिल्लो दिनभन्दा फरक थियो।
आइतबार सभामुख पदको शपथ लिएका डिपीलाई संसद सचिवालयले सोमबार बिहान बैठक कक्ष र आसन लगायत विषयमा ब्रिफिङ गरेको थियो। तर जब उनले सभामुखको आसनमा राखिएको सिंहासनजस्तो कुर्सी देखे, उनले तुरून्तै त्यसलाई बदल्न लगाए।
सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार अर्यालले आफूलाई पनि अन्य सांसदहरूको जस्तै कुर्सीमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिए।
त्यसलगत्तै सभामुखका लागि राखिएको सिंहासनजस्तो कुर्सी हटाइयो र सांसदहरू बस्नेजस्तै साधारण कुर्सी राखियो।
सामान्यतया संसदमा सभामुखको आसन सामान्य सांसदको भन्दा विशिष्ट राख्ने चलन छ। यस्तो कुर्सी कलात्मक बनाउने गरिन्छ। सभामुखले घन्टौं आसनमा बसेर बैठक चलाउनुपर्ने भएकाले उनका लागि आरामदायी कुर्सी व्यवस्था गर्ने चलन चलेको हो। यही चलन डिपीले आफ्नो पहिलो दिनको बैठकबाटै बदलेका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि अन्य सांसदको जस्तै सामान्य कुर्सी राखिएको सेतोपाटीसँग पुष्टि गरे।
'सभामुखको कुर्सीको रङ निलो बनाइएको छ,' गिरीले भने, 'कुर्सीको साइज भने अन्य सांसदहरूको जस्तै छ।'
यसअघि पहिलो बैठकमा संसद सचिवालयले सभामुखका लागि रातो कुर्सी राखेको जानकारी दिँदै उनले भने, 'संसद भवन निर्माण आयोजनाले बनाएको कुर्सी हामीले राखेका थियौं। हामीले सभामुखका लागि विशिष्ट कुर्सी राख्नुभन्दा पनि उपलब्ध भएका कुर्सीहरूमध्ये राम्रो राखेका हौं। उहाँले सांसदहरूको जस्तै राखिदिनू भन्नुभएपछि परिवर्तन गरिएको हो।'
प्रतिनिधिसभा बैठक अहिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवन परिसरको बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ।