गृहमन्त्री सुधन गुरूङ रोशी–कलाँती क्षेत्र जाँदैछन्। उनी मंगलबार १० बजे काभ्रेको पनौती नगरपालिकाभित्र पर्ने रोशी क्षेत्र जान लागेका हुन्।
२०८१ असोज १० देखि १२ गतेसम्मको भेलबाढीले रोशी–कलाँती क्षेत्र तहसनहस पारेको थियो। मापदण्डविपरीतका ढुंगा खानी, क्रसर उद्योगका कारण त्यस क्षेत्र प्रभावित बनेको गुनासो आएपछि उनी त्यता जान लागेका हुन्।
‘गृहमन्त्री सुधन गुरूङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको छ। वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उहाँले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लाग्नुभएको हो,’ गृहमन्त्रीको सचिलवालयले जानकारी दिएको छ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने सचिवालयले बताएको छ।
‘बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने कार्यक्रम छ,’ उनको सचिलालयले भन्यो।