गृह मन्त्रालयले सेन्ट्रल कमान्ड सिस्टम स्थापना गर्ने भएको छ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रभावकारीता ल्याउन गृह मन्त्रालयमा सेन्ट्रल कमान्ड सिस्टम स्थापना गर्न लागेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार कमान्ड सिस्टमबाट सबै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलका जिल्लास्थित कार्यालयहरूसँग एकैपटक सिधा सम्पर्क कायम गर्न सकिने छ।
तत्काल सूचनाको आदानप्रदान गर्न सकिने एवं महत्वपूर्ण क्षेत्र र स्थानहरूको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी प्रणाली निर्माण गर्न लागेको उनले जानकारी दिए।
गृहमा सोमबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा गृहमन्त्री सुधन गुरूङले सो प्रणाली स्थापनाको कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन्।
त्यस्तै, सर्वसाधारणले दिएका उजुरी र दर्ता भएका जाहेरीका सम्बन्धमा भएको प्रगति विवरण समयसमयमा फोन, एसएमएस र इमेलबाट जानकारी गराउने व्यवस्था कार्यान्वयनमा आएको छ। प्रहरीले सो विषय कार्यान्वयनका लागि मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ।
गृहमन्त्री सुधन गुरूङले प्रहरीमा निवेदन दिइसकेपछि सो को प्रगतिका बारेमा बुझ्न स्वयं धाइरहनुपर्ने अवस्थाको अन्त्यका लागि सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए।
गृह मन्त्रालयमा सोमबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा गृहमन्त्री गुरुङले सो को साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न र मन्त्रालय अन्तर्गतका अन्य निकायहरूमा समेत क्रमश: सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्।
त्यस्तै, गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा जनताको गुनासो सुन्ने प्रणालीलाई प्रभावकारी बनाइने भएको छ। यसका लागि सबै कार्यालयमा कार्यालय प्रमुखले गुनासोका लागि भएका संयन्त्रहरू सक्रिय बनाउने भएको छ।
त्यस्तै गृह मन्त्रालयमा कल सेन्टर स्थापना गर्ने र सो मार्फत् जनताका गुनासोहरू सम्बोधन गरिने पनि गृह प्रवक्ता काफ्लेले बताए।
उनले कर्मचारीहरूलाई आवश्यक पर्ने अनुकूल कार्यवातावरणका लागि आफू निरन्तर लाग्ने बताउँदै सुधारका लागि भोलि नभनी आजै र अहिल्यैबाट लाग्न निर्देशन दिएको प्रवक्ता काफ्लेले बताए।
समूहको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, ३ वटै सुरक्षा निकायका प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुख एवं विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।