राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्षले आज काठमाडौंमा भेला गरेका छन्।
उक्त भेलाले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न आग्रह गरेको छ।
अहिले अध्यक्ष राजेन्द्र लिङ्देन छन्। उनी २०७८ मा भएको महाधिवेशनमा कमल थापालाई हराउँदै अध्यक्ष भएका थिए।
मंसिर ११ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै कार्यसमितिको म्याद ६ महिना थपेको थियो।
उक्त म्याद सकिन दुई महिना बाँकी छँदा राप्रपाभित्र महाधिवेशन मिति तत्काल तोक्न पनि माग भएको छ।
महामन्त्री धवलशम्शेर राणासहितले आज अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर एक सातााभित्रै महाधिवेशन मिति तय गर्न भनेका हुन्।
उनीहरूले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन्।
अध्यक्ष लिङ्देनकै नेतृत्वमा महाधिवेशनमा जान महामन्त्री राणा पक्ष तयार देखिएको छैन।
साथै केन्द्रीय महाधिवेशन मिति एक साताभित्र घोषणा गर्न र अनुशासनविपरीत भएका कामकारबाहीको न्यायसंगत छानबिन गरी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठनको पनि माग उनीहरूले गरेका छन्।
राप्रपाभित्र पछिल्लो समय उपसभामुख पदमा उम्मेदवारी दिएको विषयलाई लिएर पनि नेतृत्वको आलोचना भएको छ।
प्रतिनिधि सभामा ५ सांसद रहेको राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिएको थियो। सांसद सरस्वती लामा उम्मेदवार थिइन्, उनको नाममा मतदान हुँदा ५ मत मात्रै परेको थियो।
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
वैशाख १६ गते बैठक बस्ने उनको भनाइ छ।
बैठकमा चुनावपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, चुनावकै समग्र पक्षका बारे समीक्षा गर्न, पार्टीलाई पुनर्ताजगीका साथ अघि बढाउन, केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्न एवं पार्टीका आगामी कार्यक्रमलगायत विविध विषयमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ।
