आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेन शाहसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
हेर्नुहोस् कुन मन्त्रीको सम्पत्ति कति छ?
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन रहेको र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ।
त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ।
बालेनले श्रीमती सविनासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन्। सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री बालेनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।
उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरेका छन्।
उनले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र एक्समा भएको फलोअर संख्या समेत देखाएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले
-ink-1774601886.jpeg)
अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा छ। सम्पत्ति विवरण अनुसार वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ।
१२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रूपैयाँ बराबरको हो।
त्यस्तै ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड रूपैयाँको अर्को घर उनले देखाएका छन्।
काभ्रेको धुलिखेलमा पनि उनको नाममा अपार्टमेन्ट छ। ९ आना क्षेत्रफलमा रहेको उक्त आवासीय अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख रूपैयाँ देखाइएको छ।
तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलमा घर छ। त्यसको मूल्य २ करोड रहेको उनले उल्लेख गरेका छन्।
यी घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा उनले देखाएका छन्।
वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ। जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा छ। स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ।
यी जग्गा क्रमश, २० लाख, ५ लाख, ८० लाख र ८ लाख ५० हजार रूपैयाँमा खरिद गरेको उनले जनाएको छन्।
यी जग्गाजेथा क्रमश, पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन्।
स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्। यसको स्रोत पनि पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ।
अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्यान्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन्। आफू र पत्नीको आय एवं सापटीबाट जोडेको उनले उल्लेख गरेका छन्।
उनीसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको उल्लेख गरेका छन्।
उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्यान्डर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमईबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
यसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख रूपैयाँ भने चुक्ता गरिसकेको उल्लेख गरेका छन्।
परराष्ट्र मन्त्री शिशिर खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सम्पत्ति विवरण अनुसार खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ।
त्यो उनको पैतृक सम्पत्ति हो। जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ।
खनालको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपुरको देवचुली–२ मा १३ रोपनी, नेपालगञ्ज–२ मा ३ कट्ठा जग्गाजमिन छ। यो सबै पैतृक सम्पत्ति हो। सबै बुवाको नाममा छ।
मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ। त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रूपैयाँ मौज्दात छ।
उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेसनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ।
बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ। यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ।
उनले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन्।
गृहमन्त्री सुधन गुरूङ

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्।
बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्।
८९ तोला सुन, ६ किलो चाँदी पैतृक सम्पत्ति देखाएका छन्।
गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ देखाएका छन्।
होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्।
धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ। एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।
उनले आफ्नो सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन्।
त्यस्तै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन्। उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रूपैयाँमा किनेको खुलाएका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी देखाएकी छन्। उनले यी गरगहना विवाहमा आफूले पाएको पनि उल्लेख गरेकी छन्।
आइतबार सार्वजनिक विवरणअनुसार उनको ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी छ। मन्त्री बादीको नाममा सुर्खेतमा पनि घरघडेरी छ। पतिको नाममा नुवाकोटमा पनि घरघडेरी छ।
उनले आफूसँग ५० हजार रुपैयाँ मौज्दात रहेको जानकारी गराएकी छन्।
आफू र ससुराको नाममा एनआइसी एसिया, प्रभु बैंक आदिमा नगद १५ लाख मौज्दात रहेको जानकारी दिएकी छन्।
पति र आफ्नो नाममा ५६०० कित्ता सेयर छ। सवारी साधनको नाममा आफूसँग स्कुटर, पतिसँग मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख छ। स्कुटर ३ लाख ३० हजार र मोटरसाइकल २ लाख ७० हजारमा खरिद गरेको पनि उनले बताएकी छन्।
त्यस्तै उनले कुखुरा २० वटा र कुकुर एउटा रहेको पनि विवरणमा उल्लेख छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा नम्बर १४३ मा ४ आना जग्गामा बनेको घर छ।
उनले आफूसँग सुन १५, चाँदी ५० तोला रहेको उल्लेख गरेका छन्।
उनले लुम्बिनी विकास बैंकमा २४ लाख १७ हजार २००, एभरेष्ट बैंकमा ७३ हजार २४८, सिटिजन्स बैंकमा १ लाख ४३ हजार ३३, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जी कोपरेटि लिमिटेडमा पत्नीसहितको सगोलमा २५ लाख, वाणिज्य बैंकमा १२ लाख ४२ हजार, नबिल बैंकमा १ लाख ६३ हजार ६३६, सिनर्जीमै १००० नगद मौज्दात रहेको उल्लेख गरेका छन्।
यी सबै रकमको स्रोत स्वआर्जन रहेको उनले बताएका छन्।
आफूसँग विभिन्न कम्पनीको २० हजार ९७८ गरी अहिलेको मूल्य अनुसार १ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको सेयर रहेको बताएका छन्।
उनले आफूसँग ५० लाख रुपैयाँ ऋण रहेको देखाएका छन्। उनले यो ऋण पारिवारिक र बैंक स्रोतबाट लिएको बताएका छन्। ल्याण्ड क्रुजर, स्कुटर र इभी गाडीसहित तीनवटा सवारी साधन रहेको उल्लेख गरेका छन्।
यी सबैको मूल्य करिब ३१ लाख हाराहारी रहेको उनले देखाएका छन्। आफूले करिब ३ लाख मूल्यका विभिन्न ब्राण्डका घडी रहेको पनि उल्लेख गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
सम्पत्ति विवरण अनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना बनेको घर छ। जुन जग्गा ७० लाखमा खरिद गरेको उनले बताएकी छन्। यो उनको पतिले जोडेका हुन्।
प्रतिभा रावलको नाममा बाराको कोलाबीमा १० धुर जग्गा छ। जुन उनले ५ लाखमा खरिद गरेकी हुन्। उनीसँग सुन तथा गरगहना २५ तोला छ। नबिल बैंकमा ३ लाख, ग्लोबल आइएमइमा १ लाख ७८ हजार, एभरेष्ट बैंकमा २० लाख रुपैयाँ नगद मौज्दात छ।
विभिन्न कम्पनीको करिब १ लाख मूल्यको साधारण सेयर छ।
एभरेष्ट बैंकमा २० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको र ४४ लाख मूल्यको सवारी साधन रहेको उनले बताएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफूसँग १० लाख ५० हजार ३३५ रूपैयाँ बैंकमा रहेको विवरण सार्वजनिक गरेकी छन्।
उनीसँग सुन १५ तोला, चाँदी ९ तोला र हीरा १ तोला पनि छ।
मन्त्री गौतमले सवारी साधन खरिदका लागि ऋण लिएको विवरण पनि उल्लेख गरेकी छन्। राष्ट्रिय वाणिज्य बैंकबाट गाडी किन्न २० लाख रूपैयाँ ऋण लिएर हालसम्म ७ लाख तिरेको तथा एभरेष्ट बैंकबाट सवारी साधन खरिदकै लागि २५ लाख ऋण लिएको उनले भरेको विवरणमा उल्लेख छ।
मन्त्री गौतमले पति गृहेन्द्र घिमिरेले सवारी साधन खरिदकै लागि ९५ लाख रूपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेकी छन्। घिमिरेले एभरेष्ट बैंकबाट उक्त कर्जा लिएको र त्यसमा पारिश्रमिक अनि पुरानो गाडी दिएर नयाँ किनेको विवरणमा उल्लेख छ।
कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण मन्त्री गीता चौधरी

कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण मन्त्री गीता चौधरीले आफ्नो सार्वजनिक सम्पत्ति विवरणमार्फत विभिन्न चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्री चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ।
सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री चौधरीको उक्त सम्पत्तिको स्रोत पैतृक सम्पत्ति र स्वआर्जन हो।
मन्त्री चौधरीको नाममा पाँच वटा बैंक खातामा एक लाख २६ हजार नगद रहेको विवरणमा उल्लेख छ।
उनले ५० हजार रूपैयाँ पर्ने घडी प्रयोग गर्दै आएकी छन्, जसको स्रोत स्वआर्जन भएको विवरणमा खुलाएकी छन्।
मन्त्री चौधरीले प्रयोग गरिरहेको मोबाइलको मूल्य ९० हजार र ल्यापटपको मूल्य ७५ हजार रूपैयाँ भएको उल्लेख छ।
मन्त्री चौधरीले स्कुटर किन्दा गर्दा आफूलाई ऋण लागेको सम्पत्ति विवरणमा जनाएकी छन्।
स्कुटर किन्दा एक लाख ५० हजार रूपैयाँ लिएको कर्जामध्ये ८४ हजार तिरिसकेको उल्लेख छ।
उनले स्वआर्जनबाट खरिद गरेको अर्को स्कुटर पनि भएको उल्लेख गरेकी छन् जसको मूल्य ३ लाख ३० हजार रूपैयाँ भएको जनाएकी छन्।
मन्त्री चौधरीले माइती पक्षबाट प्राप्त भएका २ वटा बाख्रा र १० वटा कुखुरासमेत सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल 'गनेस'

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल 'गनेस' ले डिजिटल पुस्तकालय सञ्चालन गर्न २५ लाख रूपैयाँ लगानी गरेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री पौडेलले उक्त लगानीबारे उल्लेख गरेका हुन्।
बुक लिफ्टर प्रालि मार्फत डिजिटल पुस्तकालय चलाउन लगानी गरे पनि सञ्चालनमा आउन बाँकी रहेको उनले उल्लेख गरेका छन्।
मन्त्री पौडेलले आफ्नो सम्पत्ति विवरणमा घर र घरले चर्चेको जमिन भाउजू सन्तोषी शर्माको नाममा रहेको उल्लेख गरेका छन्। घर भएको जमिन १७५ वर्ग मिटर रहेको र खरिद मूल्य २ करोड ६० लाख रूपैयाँ रहेको उनले विवरणमा बताएका छन्।
उक्त घरजग्गा बैंकमार्फत ऋण लिएर जोडेको उनले विवरणमा जनाएका छन्।
पोखरा १४ मझेरीपाटनका स्थायी बासिन्दा पौडेलका आमा खीमकुमारी पौडेलको नाममा विभिन्न स्थानमा पैतृक जग्गा जमिन रहेको उल्लेख गरेका छन्।
पोखरा– १४ मा आमा खिमकुमारीको नाममा एक ठाउँमा ३ हजार ८९१ वर्गमिटर, अर्को ठाँमा १ हजार ३११ वर्गमिटर र अर्को ठाउँमा १३८ वर्गमिटर जमिन पैतृक सम्पत्तिका रूपमा रहेको पौडेलको सम्पत्ति विवरणमा उल्लेख छ।
बैंक, वित्तीय संस्था तथा सहकारीमा पौडेलले नगद मौज्दात रहेको उल्लेख गरेका छन्।
उनको नाममा एमएमबी बैंकमा ५१ रूपैयाँ, माछापुच्छ्रे बैंकमा ८ लाख ८ हजार ४९६ रूपैयाँ, मझेरी सहकारीमा १ लाख ३५ हजार रूपैयाँ नगद मौज्दात छ।
यस्तै, श्रीमती नताशा पराजुलीको नाममा माछापुच्छ्रे बैंकमा रहेको छुट्टा छुट्टै खातामध्ये एउटामा २ लाख ४ हजार ८४० र अर्को खातामा १० लाख रूपैयाँ बचत रहेको देखाएका छन्। उक्त रकम नियमित बचत रहेको पौडेलले उल्लेख गरेका छन्।
छोरी श्रेया पौडेलको नाममा ७२ हजार ९३६ रूपैयाँ रहेको र उक्त रकम उपहार आएको पौडेलले विवरणमा जनाएका छन्।
मन्त्री पौडेलले सेयर कारोबारमा पनि उल्लेख्य लगानी गरेको देखिएको छ।
बिजीडब्लुटीमा ६५२ कित्ता सेयर रहेको, एसआइएसमा १० हजार कित्ता र मझेरी सहकारीमा ७ हजार ५०० रूपैयाँ सेयर लगानी गरेको उल्लेख गरेका छन्।
मन्त्री पौडेलले घर बनाउन माछापुच्छ्रे बैंकबाट १ करोड ३० लाख रूपैयाँ र मझेरी सहकारीबाट १० लाख रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। यी दुवै ठाउँमा लिएको ऋण नतिरेको पनि जनाएका छन्।
सवारी सधानको नाममा मन्त्री पौडेलसँग २ वटा स्कुटर देखिएको छ।
ग १२ प ३७२८ नम्बरको स्कुटर २०१७ मा २ लाख रूपैयाँमा खरिद गरेको र ग १२ प २६०५ नम्बरको स्कुटर सन् २०१७ मा खरिद गरेको उनले उल्लेख गरेका छन्।
स्कुटर खरिद गर्न पैतृक सम्पत्ति प्रयोग गरेको उनले विवरणमा जनाएका छन्।
उनले केही पशु र चराचुरूंगी भएको पनि उल्लेख गरेका छन्।
उनले मझेरीपाटनमा 'मझेरी मंजील फार्म हाउस' सञ्चालन गरेको उल्लेख गरेका छन्। उक्त फार्म हाउसमा २ करोड रूपैयाँ लगानी गरेको र उक्त रकम परिवारिक भएको उल्लेख गरेका छन्।
श्रीमती नताशाको नाममा बर्थ डे जोन स्टोर्स प्रालि रहेको उल्लेख गरेका पौडेलले यसमा पनि पारिवारिक रुपमा १५ लाख रूपैयाँ लगानी गरेको सम्पत्ति विवरणमा जनाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल
-1774590564.jpg)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो नाममा २५ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सम्पत्ति विवरणमा मन्त्री पोखरेलले २५ तोला सुन रहेको विवरण सार्वजनिक गरेका हुन्।
त्यस्तै उनले १०० तोला चाँदी र २५ हजार रूपैयाँ नगद रहेको विवरण सार्वजनिक गरेका छन्।
अनुमानित ७५ लाख बराबरको यो सम्पत्ति उनले विभिन्न मितिमा प्राप्त गरेको बताएका छन्।
आमाको 'दाइजो', बुबाको नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदाको पारिश्रमिक सुविधा र पैतृक सम्पत्तिबाट प्राप्त गरेको विवरणमा उल्लेख गरेका छन्।
उनले सानिमा बैंक लिमिटेड नक्सालमा रहेको आफ्नो बैंक खातामा २ लाख ४८ हजार १९८ रूपैयाँ बचत गरेका छन्।
सोही बैंकको डलर खातामा ५ डलर र एनआइसी बैंकमा एक लाख ९९ हजार २९६ रूपैयाँ रहेको उल्लेख गरेका छन्।
यो रकम उनले काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा आर्जन गरेको बताएका छन्।
उनले आफ्नो बुबा र आमाको नाममा रहेका जग्गा रहेको पनि उल्लेख गरेका छन्।
काठमाडौं-४ मा ४ आना २ पैसाको जग्गा र विराटनगर-४ मा एक कट्ठा जग्गा आफ्नो बुबा रमेशकुमार पोखरेलको नाममा देखाएका छन्।
त्यस्तै, ललितपुरको गोदावरीमा एक रोपनी १४ आना १ पैसा २ दामको जग्गा आमा मिनाक्षी ओझा पोखरेलको नाममा छ। उनकै नाममा १३५.१४ वर्गमिटरको जग्गा गोकर्णेश्वर-२ मा छ।
त्यस्तै आमा समेत मावली परिवारको नाममा ११ रोपनी जग्गा गोदावरी-७ मा रहेको खुलाएका छन्।
मन्त्री सस्मितले हिमालयन बैंकबाट २५ लाख रूपैयाँ ऋण समेत लिएका छन्।
उनले बिवाइडी डल्फिन कार ३९ लाख ६५ हजार रूपैयाँमा खरिद गरेको बताएका छन्।
उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रूपैयाँ र ऋण ७५ लाख रूपैयाँ देखिएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्री यादवले पैतृक सम्पत्तिका रूपमा ५० तोला र खरिद गरेको ३० तोला गरेर ८० तोला सुन रहेको विवरण पेस गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार उनीसँग भएको चाँदी पनि पैतृक सम्पत्ति हो।
३० तोला सुन व्यवसाय र रोजगारीबाट खरिद गरेको विवरणमा उल्लेख छ।
यादवको सप्तरीको राजविराज–९ मा ११ कट्ठा १३ धुर जमिनमा बनेको घर र राजविराज–९ मै १ बिघा ६ कट्ठा बढी जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
यो सबै जमिन पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ।
राजविराज–८ मै काजल कुमारी यादवको नाममा रहेको १० धुर जमिन भने खरिद गरेको उनले उल्लेख गरेका छन्।
यादवको सम्पत्ति विवरणमा विभिन्न बैंकहरूमा उनी र काजल कुमारी यादवको नाममा ७० लाख रूपैयाँभन्दा बढी नगद मौज्दात छ।
त्यो रकम व्यवसाय, तलब, कृषि, भाडा, सापटी र ऋण रहेको उल्लेख छ।
उनले २०७३ सालमा २ लाख ७० हजार रूपैयाँमा खरिद गरेको यामाहाको मोटरसाइकललाई सम्पत्तिका रूपमा देखाएका छन्।
यसबाहेक यादवसँग २ लाख ५० हजार रूपैयाँ पर्ने म्याकबुक (ल्यापटप), २ लाख २६ हजार ९ सय रूपैयाँ पर्ने आइफोन र ५० हजार रूपैयाँ पर्ने रेडमी मोबाइल एक/एक थान छ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा ९० लाख रूपैयाँ रहेको जनाएका छन्।
विवरण अनुसार लम्सालको रूपन्देहीमा एक कट्ठा १० धुर क्षेत्रफलमा घर छ।
त्यस्तै, नवलपरासीको कावासोती नगरपालिकामा १० कट्ठा १५ धुर र स्याङ्जाको बिरूवा गाउँपालिकामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।
लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरण पनि पेस गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना

सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अधिकांश अचल सम्पत्ति श्रीमतीको नाममा छ।
तिमिल्सिनाको विवरणमा काठमाडौंको नागार्जुनमा घर र जग्गा हुनुका साथै ४८ लाख रूपैयाँ व्यक्तिलाई ऋण सापटी दिएको उल्लेख छ।
मन्त्री तिमिल्सिनाले बुझाएको विवरण अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित सनराइज हाइटमा श्रीमती मञ्जु गैरेको नाममा १४२.७० वर्गमिटर क्षेत्रफलमा बनेको घर छ।
सोही वडामा १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गासमेत रहेको र उक्त सम्पत्तिको स्रोत श्रीमतीले स्वदेश तथा विदेशमा श्रम गरी आर्जन गरेको पारिश्रमिक र भत्ता देखाइएको छ।
चल सम्पत्तितर्फ मन्त्री तिमिल्सिनासँग ५ तोला सुन र १० तोला चाँदी छ। सुनका गहनाहरू पुर्ख्यौली, विवाहमा प्राप्त र उपहार स्वरूप आएको उनले उल्लेख गरेका छन्।
यस्तै, २०८० सालमा ५० हजार रूपैयाँमा एक थान मोतीको माला खरिद गरेको विवरणमा देखिन्छ।
बैंक मौज्दाततर्फ मन्त्री तिमिल्सिनाको नाममा नबिल बैंकको बालाजु शाखामा १० लाख २४ हजार ३ सय ६५ रूपैयाँ छ।
उनकी श्रीमतीको नाममा सानिमा बैंकमा १० हजार २१ रूपैयाँ मात्र मौज्दात छ। उक्त रकमको मुख्य स्रोत स्वदेश तथा विदेशमा कार्य गरेबापतको आम्दानी भएको उल्लेख छ।
विवरण अनुसार मन्त्री तिमिल्सिनाले दुई जना व्यक्तिलाई ४८ लाख रूपैयाँ ऋण सापटी दिएका छन्।
उनले २०८० जेठमा बलराम लामिछानेलाई १५ लाख र २०८० असारमा केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ।
उनीसँग सन् २०२२ मा २३ लाख रूपैयाँमा खरिद गरिएको बा २६ च १७६८ नम्बरको कार छ।
नुवाकोट पञ्चकन्या–१ स्थायी ठेगाना भएका मन्त्री तिमिल्सिनाले आफ्नो विवरणमा कुनै पनि कम्पनीको सेयर वा व्यावसायिक ऋण भने उल्लेख गरेका छैनन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौं महानगरपालिकामै चार ठाउँमा जग्गा रहेको देखिएको छ।
विवरण अनुसार उद्योगमन्त्री गौरी यादवको काठमाडौं-९ मा १ रोपनी ३ आना २ पैसामा बनेको तीन तल्ले घर छ। त्यस्तै, वडा नम्बर १० मा १४ आना, ७ आना र ९ आना गरी तीनवटा जग्गा छन्।
उनले बर्दिबास नगरपालिकामा १४ कट्ठा, १५ कट्ठा र साढे ५ बिघा गरी तीनवटा जग्गा देखाएकी छन्। त्यसबाहेक सम्सी गाउँपालिकामा १ बिघा र १ कट्ठा गरी दुई ठाउँमा र मनहराशिसवा गाउँपालिकामा एउटा पोखरी पनि रहेको उनले उल्लेख गरेकी छन्।
सम्पत्ति विवरण अनुसार उनीसँग सुन १८० तोला र चाँदी २ किलो छ।
विभिन्न बैंकमा १० लाख रूपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेकी छन्।
त्यस्तै, ३ करोड ३८ लाख ३५ हजार रूपैयाँ मूल्यको सेयर रहेको विवरण पनि उनले सार्वजनिक गरेकी छन्।
स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न बैंकमा १७ लाख रूपैयाँ देखिएको छ।
प्रधानमन्त्री बालेन शाह सहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार स्वास्थ्यमन्त्री मेहताको कीर्तिपुरको सौखेलमा ७ आना जग्गा देखिन्छ। यसबाहेक अरू जग्गा आफ्नो सासु र ससुराको नाममा रहेको उनले उल्लेख गरेकी छन्।
त्यस्तै, उनले ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न बैंकमा १७ लाख रूपैयाँ रहेको पनि उल्लेख गरेकी छन्।