नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको बताएका हुन्।
‘भर्खरै सरकारले तयार गरेको‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ। अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्,’ उनले भनेका छन्।
हाम्रा छिमेकीहरूबीच अनन्त दुष्मनी र द्वन्द्व नभएको भन्दै, यस्तो शब्दको प्रयोग प्रासंगिक नदेखिने बताएका छन्। बरू यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन्।
‘यही कुरा ‘समनिकटता र समदूरीका हकमा पनि लागु हुन् । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो। मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन्। त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैभरि उही मापन र आयतन नरहन पनि सक्छ,’ उनको भनाइ छ।
सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुने उनले सुझाव दिएका छन्।
सरकारले मंगलबार सुझाव माग्दै सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रको मसौदामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमञ्चमा स्थापित गरिनेछ भन्ने उल्लेख छ।
त्यस्तै कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउँदछ भन्ने मान्यता सहित सबैसँग समदुरी र समनिकटताको नीति अवलम्बन गरिने पनि उल्लेख छ।
‘सम्पूर्ण कुटनीतिको केन्द्रमा नेपाल प्रथमः नेपाली प्रथम को अवधारणा आत्मसाथ गरिनेछ। आर्थिक कुटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ,’ प्रतिबद्धता पत्रमा उल्लेख छ।