नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्।
प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै उनले बुधबारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन्। कुँवरले राजिनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई दिएका छन् ।
कांग्रेस स्रोतका अनुसार गण्डकी सरकारमा बुधबार मन्त्रिपरिषद हेरफेर हुँदा कुँवर मन्त्री बन्ने लबिइङमा थिए । मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएको कांग्रेस गण्डकीका एक सांसदले जानकारी दिए ।
‘मन्त्री हुन नपाउनुभएको झोंकमा उहाँले राजीनामा दिनुभएको जस्तो लाग्छ,’ ती सांसदले भने, ‘आवेशमा दिनुभएको राजीनामा फिर्ता गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’
२०७९ को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए । राजीनामा पत्रमा उनले आफूलाई मत दिएर विजयी गराउने मतदाता र अवसर दिने पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । मतदाताको विश्वास अनुसार पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा उनले क्षमा पनि मागेका छन् ।
‘आम नागरिकको विश्वास र भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमाप्रार्थी छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘म कुनै सार्वजनिक पदमा नरहेता पनि मेरो सेवाको सुकर्ममा कुनै कमी रहने छैन ।’
राजीनामाका विषयमा कुरा गर्न खोज्दा कुँवर सम्पर्कमा आउन चाहेनन्।
गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर भएका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार, नेपाली कांग्रेसबाट जीत शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नै सपथग्रहण गराइसकेका छन्।