नेपाली कांग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतमा विचारधीन रहेको कांग्रेसको आधिकारिता विवादसम्बन्धी मुद्दातर्फ लक्ष्य गर्दै न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार भएको बताएका छन्।
ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएको भन्दै नेता महरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार हो।’
सर्वोच्च अदालतमा विचाराधीन कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा भइरहेको ढिलाइले स्वाभाविक रूपमा गम्भीर चासो उत्पन्न गरेको उनले बताए।
‘शक्तिशाली सरकारलाई सन्तुलन र निगरानी गर्न सशक्त र एकीकृत प्रतिपक्ष अपरिहार्य हुन्छ। त्यसैले यस विषयको न्यायिक निरूपण केवल दलगत नभइ राष्ट्रिय लोकतान्त्रिक सन्तुलनसँग जोडिएको महत्वपूर्ण प्रश्न हो,’ महरले भने, ‘यसकारण, सर्वोच्च अदालतबाट ढिलो नगरिकन निष्पक्ष, स्पष्ट निर्णय आउनु आजको अनिवार्य आवश्यकता हो।’
कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।