सञ्चार तथा सूचना प्रविधि मन्त्रालले मातहत वा अन्तर्गत निकायहरूमा कार्यरत कर्मचारीहरूका निम्ति आचारसंहिता जारी गरेको छ।
मन्त्रालयले बुधबार आचारसंहिता जारी गरेको हो।
आचारसंहिताको पहिलो बुँदामा कर्मचारीहरूले संविधान र अन्य प्रचलित नीति एवम् कानूनहरूमा पालना गर्नुपर्ने भनी उल्लेख भएका आचरण, नियम र व्यवस्थाहरूको पूर्णरूपमा पालना गर्ने उल्लेख छ।
त्यस्तै दोस्रो बुँदामा कर्मचारीहरू सरकारबाट निर्धारित समयमा नियमितरूपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने उल्लेख छ।
तेस्रो बुँदामा कर्मचारीहरूले कार्यालयमा रहँदा र कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा ड्रेसकोड पालना गर्नुपर्ने, तोकिए बमोजिमको पोशाक लगाउनुपर्ने उल्लेख छ। त्यस्तै कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्ने पनि उल्लेख छ।
चौथो बुँदामा प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा सिस्टममा आएका कामहरू सकेसम्म सोही दिन वा सोको भोलिपल्टसम्ममा सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ। कुनै द्विविधा वा विलम्ब हुने भएमा सम्बन्धित सुपरीवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने बताइएको छ।
पाँचौं कुनै टिप्पणी, पत्र वा निर्णयको उठान वा सुरू गर्ने कर्मचारीले आफूले गरेको कामको ट्र्याकिङ वा फलोअप री आफ्नो सुपरीवेक्षकलाई जानकारी गराउने उल्लेख छ।
छैटौं बुँदामा कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीयरूपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनुपर्ने उल्लेख छ।
सातौं बुँदामा सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।
आठौंमा कर्मचारीहरूले कार्यालय परिसर तथा आफ्नो कार्यकक्षलाई सफा राख्नुपर्ने र नवौंमा स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्नुपर्ने उल्लेख छ। आचारसंहितामा सम्बन्धित कर्मचारीसँग मन्त्रालयले प्रतिबद्धता पनि लिएको छ।