नेपाली कांग्रेसले पूर्व पदाधिकारीलगायत नेताहरूसँग संवाद तथा समन्वय गर्न सभापति गगन थापालाई जिम्मेवारी दिएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले पूर्व पदाधिकारी लगायतहरूसँग समन्वय गर्न सभापति थापालाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कांग्रेसले पुसमा विशेष महाधिवेशन गरेको थियो।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी भएको थिएन। देउवा पक्षले समानान्तर गतिविधि गर्दै आइरहेको पार्टीभित्र चर्चा छ।
कांग्रेसले असोजमा नियमित १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।
यो सन्दर्भमा पुराना पदाधिकारीहरूसँग संवाद गर्न पार्टीले सभापति थापालाई नै जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
‘हामी अब १५ औं महाधिवेशनमा जाँदैछौं, केही साथीहरू असन्तुष्ट देखिनुभएको छ। यससँग सम्बन्धित पुराना पदाधिकारीहरूलाई १५ औं महाधिवेशनमा ल्याउन छलफल तथा संवाद गर्नुपर्ने हुन्छ। संवाद र सहकार्यबाट अघि बढ्नुपर्छ र यो काम संस्थापनको हो,’ उनले भने, ‘पुराना पदाधिकारीहरूसँग संवाद गर्न तथा समन्वय गर्ने जिम्मेवारी सभापति थापालाई नै दिने निर्णय गरेका छौं।’
आज सानेपामा बसेको कार्यसम्पादन समितिले विभिन्न समितिहरू गठन गरेको छ भने भोलि पनि बैठक निरन्तर चल्ने उनले बताए।