नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताएका छन्।
‘निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ,’ उनले भनेका छन्।
एमाले आम निर्वाचन ०८२ मा बेहोर्नु परेको पराजयपछि समिक्षाको चरणमा प्रवेश गरेको उनको भनाइ छ। निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको उनले बताएका छन्।
प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रिय सचिवालयका तर्फबाट समिक्षा प्रतिवेदन तयार गरिने उनको भनाइ छ।
‘निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ,’ उनले भनेका छन्।