नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कतिपय नेता नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा रहेको भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत् टिप्प्णी गर्दै उनले हिजो पद प्राप्तिका लागि एकता भएको र आज आफ्नो गुम्दो अस्तित्व जोगाउन दौडधुप भइरहेको बताएका हुन्।
‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?,’ उनले प्रश्न गरेका छन्।
एमाले आफैमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने उनको धारणा छ। दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको र विचार, निश्चित गन्तव्य बिनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई विषयान्तर (डाइल्युट) मात्र गर्ने बताएका छन्।
‘अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ,’ उनको भनाइ छ।