उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा नजाने सार्वजनिक घोषणा गरेकी छन्। आफूले सानैदेखि ‘दहेजमुक्त’ समाजको सपना देखेको भन्दै समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न त्यस्तो घोषणा गरेको बताएकी छन्।
‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा दहेज मुक्त विवाह भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ। दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ,’ उनले फेसबुकमा स्ट्याटसमार्फत् भनेकी छन्।
साँच्चिकै समाज परिवर्तनको कुरा गर्ने, देश विकासको सपना देख्ने र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहने हो भने परिवर्तनको सुरूआत हामी आफैबाट गर्नुपर्ने उनको मान्यता छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने उनको ठहर छ।
‘यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं। अतः विवाह निमन्त्रणापत्रमा दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं,’ उनले भनेकी छन्।