प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिने भएको छ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदमा पार्टीबाट उम्मेदवारी रहने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
‘लेखा समिति सभापतिमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी रहन्छ, त्यो चाहिँ सरकारलाई वाच गर्ने ठाउँ हो, विपक्षले पनि राम्रो भूमिका निर्वाह गर्न सक्नुपर्छ, त्यो उसको जिम्मेवारी पनि हो,’ महामन्त्री पौडेलले सेतोपाटीसँग भने, ‘सरकारले पनि लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई अफर गर्नुपर्ने हो, लेखा समिति प्रमुख प्रतिपक्षीले जिम्मेवारी निर्वाह गर्ने ठाउँ हो र विगतको अभ्यास पनि यही हो।’
संविधानले सुनिश्चित गरेअनुसार सरकारका कमिकमजोरी केलाउने ठाउँ लेखा समिति भएको पनि उनले बताए। ‘त्यसैले लेखा समिति सभापति पदमा हाम्रो उम्मेदवारी रहन्छ,’ उनले भने, ‘अरू समितिमा के गर्ने भन्नेबारे विपक्षी दलहरूसँग पनि संवाद गर्छौं।’
लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन्।
कांग्रेसले अन्य विपक्षी दलहरूसँग पनि यसबारे छलफल गर्ने बताएको छ।
आज संसदीय समितिहरूको सभापति चयनका लागि उम्मेदवारीको कार्यक्रम छ।