प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने निर्णय गरेको र प्रतिपक्षी एमाले तथा नेकपाले पनि कांग्रेसकै उम्मेदवारलाई सहयोग गर्ने बताएकोले उनी सार्वजनिक लेखा समिति सभापति निर्विरोध चयन हुने देखिएको छ।
लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन्।
उनीहरूमध्ये पार्टीले डोटीबाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको सांसद भीष्मराज आङ्देम्बेले जानकारी दिए। खड्काले आज उम्मेदवारी दर्ता गरिसकेका छन्।
आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ता भइरहेको छ भने निर्वाचन शुक्रबार हुनेछ।
६८ वर्षीय खड्का डोटीका हुन्। उनी २०७० सालको दोस्रो संविधान सभा सदस्यसमेत थिए। २०७४ मा उनी डोटी १ को १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
उनले नेविसंघबाटै राजनीति सुरू गरेका थिए।