नेकपा एमालेले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ।
एमालेले फागुन–चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा जेठ मसान्तसम्म समय थप गरेको हो। एमालेमा करिब साढे पाँच लाख पार्टी सदस्यता छन्।
‘पार्टीको दोस्रो विधान महाधिवेशन र एघारौं राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित गरेको विधानबमोजिम पार्टी सदस्यको योग्यताको हकमा विधानको धारा–४ र संगठित सदस्यको हकमा धारा–५ मा व्यवस्था गरिएको छ। आमनिर्वाचनको कारण विधानमा व्यवस्था भएको सदस्यता नवीकरण फागुन–चैतमा गर्ने व्यवस्थालाई हाल सदस्यता नवीकरण गर्न २०८३ जेठ मसान्तसम्मलाई तोकिएको व्यहोरा निर्देशन गर्दछु,’ महासचिव शंकर पोखरेलले परिपत्र पठाउँदै भनेका छन्।
सदस्यता कार्डको हकमा पार्टी सदस्यको लागि प्रदेश/जिल्ला कमिटीले आफैले छपाई गरी वितरण गर्न केन्द्रले निर्देशन पठाएको छ।
‘संगठित सदस्यताको हकमा भने पार्टी केन्द्रले नै डिजिटल कार्ड उपलब्ध गराउनेछ। केन्द्रीय कमिटी, सल्लाहकार परिषद्र केन्द्रीय आयोगका कमरेडहरूको नवीकरण पार्टी केन्द्रमा नै हुनेछ। तोकिएको समयभित्र सदस्यता नवीकरण गरी यथासमयमा नै संगठन विभागमा आफ्नो रेकर्ड डिजिटल्ली अध्यावधिक गर्नुहुन निर्देशित गरिन्छ,’ महासचिव पोखरेलले भनेका छन्।