नेपाली कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतको फैसलापछि पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफू पक्षका नेताहरूलाई छलफलमा बोलाएका छन्।
उपसभापति खड्काको निवासमा दिउँसो ३ बजेपछि छलफलमा बस्ने तय भएको उनीनिकट एक नेताले जानकारी दिए।
'सर्वोच्चको फैसलापछि बिहानैदेखि छलफल गरिरहनुभएको छ। दिउँसो फेरि छलफल गर्दैछौं,' ती नेताले भने।
छलफलमा शेरबहादुर देउवा पक्षका निवर्तमान पदाधिकारीसँगै निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
छलफलले सर्वोच्चको आदेशपछि कसरी अगाडि बढ्ने भन्नेबारे निर्क्योल गर्नेछ।
शुक्रबार सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि देउवा पक्ष सर्वोच्च गएको थियो। सर्वोच्चले आयोगको निर्णय सदर गर्दै देउवा पक्षको रिट खारेज गरिदिएको हो।
सर्वोच्चको फैसलापछि सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर असोजमा १५ औं महाधिवेशन सम्पन्न गर्ने बताएका छन्।