नेपाली कांग्रेसको पूर्णबहादुर खड्का पक्षले पार्टीको बैधानिकताबारे सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको छ।
शनिबार गोल्फुटारस्थित खड्काकै निवासमा भएको छलफलमा अदालतको फैसलालाई स्वीकार गरेर जाने निर्णय भएको नेता मीन विश्वकर्माले बताएका छन्।
'पर्याप्त असन्तुष्टिका आधारहरू हुँदा हुँदै पनि फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधासपूर्ण र विवादास्पद हुँदा हुँदै पनि त्यो फैसलालाई स्वीकार गर्ने कुरा आज छलफल भएको छ,' विश्वकर्माले बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा भने।
उनले कांग्रेसले विधिको शासन, शक्ति पृथकीकरणको आधारमा स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सदैव आत्मसात गर्ने नीति लिइरहेको र त्यही परम्पराबाट हुर्किँदै बढ्दै आएकोले अदालतको फैसलामा असन्तुष्टि भए पनि स्वीकार गर्ने निष्कर्ष निकालिएको बताए।
नेता विश्वकर्माले आजको छलफल अनौपचारिक रहेको र त्यस क्रममा नेताहरूले आ-आफ्नो धारणा राखेको बताए।
'आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्ने बारेमा परामर्श भयो। यसका बारेमा निरन्तर बैठक बस्दै जाने र देशबाट विभिन्न ठाउँबाट आउनुभएका साथीहरू, विभिन्न पदमा रहेका साथीहरू र सबै साथीहरुको सुझाव र परामर्शलाई पनि सुन्ने र एउटा निष्कर्षमा पुग्ने र यसका लागि केही समय लाग्छ भन्ने निष्कर्ष निकालियो,' उनले भने।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै शेरबहादुर देउवा र नेता खड्का पक्षको रिट खारेज गरिदिएको थियो।
खड्का पक्षले आइतबार पनि अनौपचारिक छलफल गर्ने जनाएको छ।