नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पूर्णबहादुर खड्का अब कांग्रेसको निवर्तमान कार्यवाहक सभापति भएको बताएका छन्।
सर्वोच्च अदालतले पार्टीको बैधानिकता विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई दिने फैसलाबारे शनिबार गोल्फुटार बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा नेता विश्वकर्माले खड्का अब पार्टीको कार्यवाहक सभापति नरहेको बताएका हुन्।
उनले यसअघि सर्वोच्च अदालतमा दुवै पक्ष आ-आफ्नो दाबी विरोध लिएर गएको र त्यस क्रममा पूर्णबहादुर खड्का कार्यवाहक सभापति भनेरै गएको बताए।
'अदालतमा दुवै पक्ष आ-आफ्नो दाबी विरोध लिएर गइरहेको अवस्थामा दुवै पक्षले आफ्ना आफ्ना गतिविधिलाई निरन्तरता दिनू, तीव्रता दिनू र त्यसलाई सशक्त बनाइँदै लैजानु स्वाभाविक हो,' उनले भने, 'हामीले पनि त्यही गतिविधि गरेका थियौं। अर्को पक्षले यसलाई गैरकानुनी, अवैधानिक भन्नु पनि निरर्थक हो। हास्यास्पद थियो। अर्थपूर्ण थिएन।'
अदालतमा कार्यवाहक सभापतिको हैसियतमा मुद्दा दर्ता भएकाले त्यसरी नै गतिविधि गर्न कुनै अफ्ठ्यारो नभएको उनले बताए।
'तर हिजोदेखि जब फैसला भयो। अदालतको फैसलालाई स्वीकार गर्न भनिसकेपछि अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभो। त्यसलाई हामीले स्वीकारेका छौं,' उनले भने।
गोल्फुटार बैठकले सर्वोच्चको फैसलालाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ।