नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा सहभागी रहेका उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका हुन्।
‘यो पार्टी एकताबद्ध बनाएर लैजानुपर्छ, पार्टीमा एकता हुनुपर्छ,’ उनले भने, ‘कांग्रेस पार्टीमा क्रियाशील सदस्य बढी भोट भने कम आइरहेको छ, यसको कारण खोज्नुपर्छ। यसको कारण खोज्ने अध्ययन गर्ने काम सानेपाको हो।’
उनले कांग्रेस किन सानो पार्टी भयो भन्ने कारण सबै मिलेर खोज्नुपर्ने पनि बताए।
‘जनताले कांग्रेसलाई पहिलो दल बनाउन किन खोजेनन्, यसको कारण हामीले खोज्नुपर्छ,’ उनले भने, ‘को सभापति छ भन्ने कुरा ठूलो होइन, हाम्रा एजेन्डा जनमुखी हुनुपर्छ।’
उनले आफूहरू नेपाली कांग्रेस पार्टीमै रहेको र विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने एक मात्र एजेन्डामा विगतमा मतभेद देखा परेको पनि बताए।
पार्टी एकताबद्ध राख्न सभापति गगन थापाको भूमिकाअनुसार आफूहरू अघि बढ्ने पनि उनको भनाइ छ।