नेकपा एमालेका नेता कर्णबहादुर मल्लविरूद्ध मुद्दा दर्ता भएको छ।
मल्लविरूद्ध बलात्कार र गर्भ संरक्षण विरूद्धको कसूरमा मुद्दा दर्ता भएको हो।
सोमबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दुई वटा कसूरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
'प्रहरी अनुसन्धान सकाएर आज सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो,' उनले भने।
२९ वर्षीया जमुना खत्रीले फागुन ५ गते आफूलाई बलात्कार र भ्रूण हत्या गरेको भन्दै ललितपुर प्रहरी कार्यालयमा मल्लविरूद्ध उजुरी दिएकी थिइन्।
उजुरी दिएको एक महिनासम्म पक्राउ नपरेपछि काठमाडौं माइतीघर मण्डलमा चैत ८ गतेदेखि १४ गतेसम्म उनी आमरण अनसन बसेकी थिइन्।
मल्ल चैत १४ गते पक्राउ परेका थिए।
उनी पक्राउ परेसँगै जमूनाले आमरण अनसन तोडिन्। तर सडक छोडेकी छैनन्। अहिले पनि माइतीघर मण्डलमा धर्ना बसिरहेकी छन्।
आफूले न्याय नपाएसम्म सडक नछोड्ने उनको अडान छ।