नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित भातृ संगठनका नेताहरूसँगको छलफलमा बोल्दै महरले भने, ‘कांग्रेस एकबद्ध भएर अघि बढ्नुको विकल्प छैन। आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्छ।’
उनले देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सशक्त र जिम्मेवार कांग्रेस आवश्यक रहेको उल्लेख गर्दै पार्टी कमजोर भएमा समग्र लोकतन्त्र नै कमजोर हुने महरको भनाई थियो।
‘हाम्रो जिम्मेवारी केवल पार्टीभित्र सीमित छैन, देश र लोकतन्त्रप्रति पनि उत्तिकै छ, सरकार दूई तिहाइको दम्ब देखाएर जनताका दैनिक जनजिवनमा आएका समस्याप्रति उदासिन देखिएको छ। सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पनि प्रमुख प्रतिपक्ष दलले अहम भूमिका खेल्ने बेला आएको छ,’ उनले भने।
अहिले विद्यार्थी संगठन माथि सरकारले लगाउने प्रतिबन्ध नेपालको संबिधानको बर्खिलाप भएको तर विद्यार्थी राजनीतिभित्र अत्यधिक सुधारको आवश्यकता रहेको बताउँदै महरले युवाहरूलाई पार्टीको मुख्य शक्तिको रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताविना पार्टीको भविष्य सुदृढ नहुने धारणा राखे। उनले अवसर, नेतृत्व विकास र नीतिगत सहभागितामार्फत युवाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए।
महरले सबै नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको सामूहिक हितमा लाग्न आह्वान गरे। ‘हामी सबै एकजुट भयौं भने मात्रै कांग्रेसलाई अझ बलियो र देशलाई समृद्ध बनाउन सक्छौं,’ उनलले भने।