नेकपा एमालेले बुधबार पार्टी स्थापनाको ७७औं वर्षगाँठ मनाउँदैछ। एमालेलाई २००६ वैशाख १० गते स्थापना भएको नेपाली कम्युनिस्ट आन्दोलनको मूल शिरा मान्छ।
एमालेले आज पार्टी केन्द्रीय कार्यालयमै स्थापना दिवस मनाउन लागेको हो।
उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा अोली पनि उपस्थित हुँदैछन्। जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको आरोपमा पक्राउ र हाजिरी जमानीमा रिहा भएपछि ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सरिक हुन लागेका हुन्।
अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमका फरक फरक तस्बिर सामाजिक सञ्जालमा हालेर एमालेका नेता–कार्यकर्ताले पार्टीभित्रको पछिल्लो शक्ति संघर्षलाई प्रतिविम्बित गरिरहेका छन्।
स्थापना दिवसको सन्दर्भमा मंगलबार एमालेले केन्द्रीय कार्यालयले एउटा पोस्टर बाहिर ल्याएको थियो। जसमा अध्यक्ष ओली थिएनन्। पार्टी कार्यक्रमबारे जानकारी दिने पोस्टरमा पहिलो पटक अध्यक्ष ओलीको तस्बिर राखिएको थिएन।
उक्त पोस्टरलाई पार्टी महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए। पछिल्लो समय महासचिव पोखरेल ओलीबाट टाढिँदै गएका छन् र उनको विकल्प पनि खोज्न थालेका छन्।
ओलीनिकट मानिएका विष्णु रिमालले पनि त्यसलाई सामाजिक सञ्जालमा सेयर गरेका थिए। रिमालसँगै एमालेका नेता कार्यकर्ताले पनि सेयर गरेका थिए।
साँझ एमाले केन्द्रीय कार्यालयकै नामबाट अर्को पोस्टर सामाजिक सञ्जालमा आयो, जसमा ओलीको तस्बिर प्रयोग गरिएको थियो।
बुधबार बिहान त्यही पोस्टर आफ्नो वालमा राख्दै एमाले सचिव महेश बस्नेतले नेकपा स्थापना दिवसको शुभकामना दिएका थिए।
बुधबार बिहानै उपाध्यक्ष विष्णु पौडेलले पनि ओलीको तस्बिरबिनाको पोस्टर हालेर शुभकामना सन्देश दिँदै पार्टीभित्र झाँगिएको पछिल्लो शक्ति संघर्षलाई थप उजागर गरे।
२०८० सालमा एमालेले पार्टीका सार्वजनिक कार्यक्रममा ओलीको तस्बिर राख्ने निर्णय गरेको थियो। तल परिपत्र पनि गरेको थियो।
त्यति बेला जीवित नेतामध्ये ओलीको मात्र फोटो राख्न निर्देशन दिन लगाउने एमाले नेताहरू नै अहिले पार्टीका पोस्टरहरूबाट ओलीको तस्बिर हटाएर पार्टीभित्र फेरिँदो आयामलाई संकेत गरिरहेका छन्।
बुधबार बिहान नै एमालेकी निवर्तमान पोलिटब्युरो सदस्य सुजिता शाक्यले पनि ओलीको तस्बिरबिनाकै पोस्टर हाल्दै नेकपा स्थापनाको शुभकामना दिइन्। शाक्य एमाले महासचिव शंकर पोखरेलकी पत्नी हुन्। शाक्य लामो समयदेखि पार्टी संस्थापन धारमै छिन्। बुधबार बिहान नै एमाले सचिव राजन भट्टराई, शेरधन राईले पनि ओलीको तस्बिर बिनाकै पोस्टर राखेर शुभकामना दिएका छन्।