नेपाली कांग्रेसले लम्बेतान कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरेको छ।
यो कार्यविधि वैशाख २ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पारित गरिसकेको छ।
प्रदेश तथा जिल्ला कार्यसमितिहरूबाट प्राप्त सुझाव समावेश गरेर लागू कार्यविधिमाथि गर्ने तयारीमा पार्टी रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘नेपाली कांग्रेसले सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ बनाइसकेको छ, प्रदेश र जिल्ला कार्यसमितिको सुझाव सम्मिलित गरेर जेठ १ गतेदेखि लागू हुने गरी पारित गरेका हौं,’ उनले भने।
कांग्रेसले आसनदेखि भाषणसम्म छोटो गर्ने गरी कार्यविधि बनाएको छ।
महाधिवेशन प्रतिनिधिदेखि विभिन्न तहमा क्रियाशील नेताहरूलाई आसनग्रहण गराउने र भाषण गर्न दिँदा कार्यक्रम लामो समय चल्ने र भद्दा हुने गरेकोले सुधार गर्न लागिएको पार्टीले जनाएको छ।
अबदेखि कांग्रेसले कार्यक्रम मञ्चमा एक जना अतिथि र एक जना सञ्चालक वा अध्यक्ष मात्रै राख्ने गरी कार्यविधि बनाएको छ। खादामाला र ब्याचलगायत बन्देज गर्ने भनिएको छ। यसअघि पनि खादामाला र ब्याच रोक्ने भने पनि लागू हुन सकेको थिएन।
भाषण गर्दा शब्द चयनमा विभेद वा अपमानजन्य शब्दहरू प्रयोग गर्न नपाउने कार्यविधिमा उल्लेख छ। ‘घृणा, अपमान वा विभेदजन्य शब्द प्रयोग गर्न पाइने छैन भने मुद्दाहरू केन्द्रित रहेर छोटो बोल्नुपर्छ,’ उनले भने।
कार्यक्रम निर्धारित समयमै सुरू गर्नुपर्ने, प्रमुख अतिथि वा अतिथि आइनपुगे पनि तोकिएकै समयमा कार्यक्रम सुरू गर्ने कुरा कार्यविधिमा समेटिएको छ।
कार्यक्रम परिणाममुखी बनाउन पनि कार्यविधि ल्याउनुपरेको उनको भनाइ छ।
‘समयको सबैभन्दा बढी ख्याल होस् भनेर यो कार्यविधि बनाइएको हो,’ उनले भने, ‘वक्ताको मात्र होइन, सहभागीहरूको पनि समय उत्तिकै महत्त्व हुन्छ भन्ने कुरा हेक्का राख्नुपर्छ, पट्यारलाग्दो कार्यक्रम गर्नु भएन। यसलाई व्यवस्थित गर्न खोजिएको हो।’
कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेर पनि छोटो बनाउन कार्यविधि तय गरिएको उनको भनाइ छ।
‘यो कार्यविधि कसैलाई अपमान गर्न होइन, कार्यक्रम व्यवस्थित बनाउन ल्याइएको हो,’ उनले भने, ‘मर्यादा प्राप्त गर्ने र मञ्च सञ्चालनका विधि फरक छन्। सार्वजनिक कार्यक्रम मर्यादाका श्रृङ्खला होइनन्।’