नेपाली कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिले काम थालेको छ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको १७ सदस्यीय समितिको पहिलो बैठक मंगलबार बसेको हो।
उक्त बैठकमा सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरी पनि सहभागी थिए।
सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका थिए।
संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधान संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाइ छ।
लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले आग्रह गरेका थिए।
समितिले सुरूमा संविधानको सुक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग छलफल गर्ने समितिका सदस्य सचिव राजु कटुवालको भनाइ छ।
सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा कांग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेको छ।
सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले बताए।
उनकाअनुसार अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी बिहीबार बस्दैछ।