प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबाट बुधबार राजीनामा दिएका गृहमन्त्री सुधन गुरूङ २७ दिनअघि मन्त्री नियुक्त हुँदा तेस्रो वरीयतामा थिए।
त्यति बेला पार्टीभित्र कचकचबीच प्रधानमन्त्री बालेनले नै उनलाई गृहमन्त्री बनाएका थिए। सँगसँगै, उनलाई मन्त्रिपरिषदको मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछि तेस्रो स्थानमा राखिएको थियो।
पहिलो पटक मन्त्री भएका र पार्टीमा पनि भर्खरै प्रवेश गरेका उनी कसरी मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृहमन्त्री बने भन्नेमा धेरैको चासो थियो।
मन्त्रिपरिषदका सदस्यहरूले नै यो कुरा उठाएपछि सरकार गठन भएको दुई साता नबित्दै मर्यादाक्रम हेरफेर गरेर सुधन गुरूङलाई पाँचौं स्थानमा झारिएको थियो।
त्यसअघि चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा चढाइएको थियो भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छैठौंबाट चौथोमा उक्लिएका थिए।
मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए।
उनीहरूले यो कुरा प्रधानमन्त्री बालेन, पार्टी सभापति रवि लामिछाने, उपसभापति लगायत सचिवालयका अन्य नेताहरूलाई पनि सुनाए।
त्यसपछि सबैसँग सरसल्लाह गरेर पार्टी सभापति लामिछानेले प्रधानमन्त्री बालेनको सहमतिमा मर्यादाक्रम सच्याइएको एक मन्त्रीले बताएका थिए।
यसरी तेस्रो वरीयतामा नियुक्त भई पाँचौंमा झरेका गृहमन्त्री सुधनले सरकार बनेको एक महिना नबित्दै सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि बुधबार राजीनामा दिएका छन्।
यसबीच उनलाई सेयर लगानी र भट्टसँगको सम्बन्धबारे स्पष्टीकरण सोध्न पार्टीभित्र रास्वपा नेताहरूले नै प्रश्न गरेका थिए। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले उनलाई पटक पटक भेटेर कुराकानी गरेका थिए।
पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोध्नुपर्नेबारे पार्टीभित्रै कुरा उठे पनि आयोगले भने केही पहल गरेन। अन्ततः उनले सामाजिक सञ्जाल फेसबुकबाटै राजीनामा घोषणा गरेका हुन्।