राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको सिफारिसअनुसार एकपछि अर्को नेतामाथि कारबाही गरेपछि महामन्त्री धवल शम्शेर राणाले प्रश्न उठाएका छन्।
अध्यक्ष लिङ्देनले आज केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन् भने केन्द्रीय सदस्य नानीमैया आचार्य तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी (चाहना) लाई निलम्बन गरेका छन्।
यसप्रति महामन्त्री राणाले विरोध गरेका हुन्।
चुनावअघि समानुपातिक सूची हेरफेर गर्न माग गर्दै आचार्य र अधिकारी पार्टी कार्यालयमा अनशन बसेका थिए।
साथै पार्टीको नीति र नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको भन्दै कार्कीलाई पदमुक्त गरिएको थियो।
यस्तो छ महामन्त्री धवल शम्शेर राणाको भनाइ-
जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको हो। पार्टीको वैधानिक निर्णय पालना गरौं, चुनावी परिणामपछि पार्टीलाई उठाउन केन्द्रीय कार्यसमितिले तोकेको समयमा महाधिवेशन गरौंभन्दा पार्टी फुटाउन लागे भनेर एकतर्फी भ्रम सिर्जना गर्नु निश्चय पनि पार्टी हितमा छैन। यस अवस्थामा महाधिवेशन गर्नुबाहेक उत्तम विकल्प राप्रपासामु छैन भनेर देशभरका नेता, कार्यकर्ता मित्रहरूलाई पुनः आह्वान गर्दछु।
यसको अतिरिक्त पार्टीको कार्यसम्पादन समितिबाट जिम्मेवारी पाएर पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र सल्लाहकार समितिका अध्यक्ष एवं कार्यसम्पादन समिति सदस्य निरंजन थापाले अनसनरत निर्वाचित केन्द्रीय सदस्य नानीमैया आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव तथा २०७९ निर्वाचनमा उपमेयर उम्मेदवार चम्पा अधिकारी (चाहना) सँग वार्ताद्वारा सम्झौता गरी अनसन तोडाएको तथ्य विदितै छ।
तर, दुर्भाग्यवश पार्टी र पार्टीका शीर्ष नेताहरूसँग समझदारी कायम गरेका महिला नेतृहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउने र जेनजी पुस्ताका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई प्राकृतिक न्यायको सिद्धान्तविपरित, स्पष्टीकरणको मौकासमेत नदिइ कारबाही गर्ने, आन्तरिक प्रजातन्त्र र अनुशासनको धज्जी उडाउने पार्टी हितविपरितको कार्यप्रति असहमति प्रकट गर्दछु।