सुकुम्बासी बस्ती खाली गराउने क्रममा शनिबार साँझ झडप भएको मनोहरा खोला किनारको बस्तीमा अहिले राति साढे १० बजेसम्म पनि स्थानीयहरू आगो बालेर बसिरहेका छन्।
'एक रात बस्न दिनुस्, भोलि आफै सामान सार्छौं' भन्दा पनि प्रहरीले बल प्रयोग गरेपछि यहाँ ढुंगा हानाहान भएको थियो।
सुरक्षा निकाय आक्रामक ढंगमा प्रस्तुत भएपछि यहाँका बसोबासी भयभीत छन्। शनिबार दिनभरिमा धेरैले आफ्नो सामान सारिसकेका थिए। बचेका केही घरपरिवार अहिले राति अबेरसम्म आफ्ना सामान झुपडीबाट बाहिर निकालिरहेका छन्। भोलि कहाँ सार्ने टुंगो नभए पनि उनीहरूले सामान पोको पारेर राखिरहेका छन्।
अन्यत्र डेरा फेला पारिसकेकाहरू राति नै सामान सर्ने तयारीमा पनि छन्।
प्रहरीले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएर तीनवटा झुपडी भत्काइदिएका थिए। त्यसमध्ये एउटा झुपडीमा सामानधरि सारिएको थिएन। सामान सहितको घरमा डोजर चलेपछि स्थानीय आक्रोशित भएका थिए।
यसले बस्तीका बसोबासी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। केही सुकुम्बासी घाइते भएको र केहीलाई पक्राउ गरिएको स्थानीय बताउँछन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केही बेर ढुंगामुढा भएको बताएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काका अनुसार १२-१३ जना ढुंगामुढाले घाइते भएका छन्। घाइते हुनेमा एक जना डिएसपी पनि छन्। सबैको अवस्था सामान्य भएको उनले बताए।





