नेपाली कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दल नेता चयन भइसक्ने बताएका छन्।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल भइरहेको छ।
सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसपछि निर्वाचन समितिबाट संसदीय दल नेता चयन अघि बढ्ने पनि उनले बताए। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति उपसभापति शर्मा कार्यदलको सुझावका आधारमा सभापति गगन थापाले संसदीय दल नेता उम्मेदवार प्रस्ताव गर्ने तयारी छ।
‘भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्छ, पार्टी संसदीय दल विधानमा संसदीय दल नेता सर्वसहमतिका लागि पार्टीले पहल गर्ने कुरा छ, पार्टीले सर्वसहमतिका लागि पहल गरिरहेको छ। सभापतिले भोलि केन्द्रीय कार्यसम्पादनमा नाम प्रस्ताव गर्नुहोला, त्यसका आधारमा संसदीय दलको विधानकै व्यवस्थाअनुसार दिउँसो १ बजे निर्वाचन समितिले संसदीय दल नेता चयन गर्छ,’ उनले भने।
संसदीय दल नेता सर्वसम्मत चयन गर्ने गरी कांग्रेसभित्र छलफल भइरहेको छ। कांग्रेसमा ३८ जना सांसद छन्।
तीमध्ये संसदीय दल नेताका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा, निश्कल राईलगायत आकांक्षी छन्।