राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका छन्।
सरकारले पठाएका अध्यादेशबारे राष्ट्रपति पौडेलले बिहीबार महान्यायाधिवक्ता कँडेलसँग एक घन्टा छलफल गरेका हुन्।
छलफलमा राष्ट्रपति पौडेलले अध्यादेश अध्ययनमा रहेको जानकारी गराएको महान्यायाधिवक्ता कँडेलले बताए।
‘अध्यादेशको बारेमा अध्ययन गर्दै हुनुहुँदो रहेछ। त्यही जानकारी गराउनु भयो,’ उनले भने।
अध्यादेशबारे राष्ट्रपति पौडेलले राय पनि मागेका थिए।
त्यसमा सरकारले पठाएका अध्यादेशमा राष्ट्रपतिले त्यस भित्रका विषयमा प्रवेश गर्न नमिल्ने राय दिएको पौडेलले बताए।
‘मन्त्रिपरिषदबाट निर्णय भएर सिफारिस भएका अध्यादेशहरूलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, कन्टेन्टमा प्रवेश गर्न हुँदैन भन्यौं,’ उनले भने।
सरकारले बुधबारसम्म ६ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको छ।
‘उहाँको कुनै एउटामात्रै अध्यादेशमा चासो भन्ने थिएन। त्यसमा पनि विशेषगरी संविधानको रक्षक भएको र सरकार/मन्त्रिपरिषदले गरेको सिफारिसमा गर्नुपर्ने कुनै पनि गतिविधि संवैधानिक सीमा भएको हुनाले कन्टेन्टभित्र प्रवेश गर्नुहुँदैन भन्ने राय रह्यो,’ उनले भने।