पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को ऐतिहासिक जितपछि अब राज्यको नयाँ मुख्यमन्त्री को बन्ने भन्ने प्रश्न राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
विधानसभाका २९४ सिटमध्ये दुई-तिहाइ बहुमत ल्याएको भाजपाले अझैसम्म मुख्यमन्त्रीको नाम सार्वजनिक गरिसकेको छैन। तर विभिन्न नेताको नाम सम्भावित दाबेदारका रूपमा अगाडि आएका छन्।
विगतमा पनि अन्तिम क्षणमा नयाँ अनुहार अघि सार्ने भाजपाको अभ्यास हेर्दा, यसपटक पनि निर्णय अन्तिमसम्म गोप्य राखिने संकेत देखिन्छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार अहिले मुख्यमन्त्रीको दाबेदारका रूपमा चर्चामा आएका नाम यस प्रकार छन् —
शुभेन्दु अधिकारी
भाजपाभित्र सबभन्दा बलियो दाबेदारका रूपमा शुभेन्दु अधिकारीलाई हेरिएको छ।
हाल राज्य विधानसभामा विपक्षी नेता रहेका उनले पूर्वी मेदिनीपुर क्षेत्रमा बलियो संगठनात्मक आधार बनाएका छन्। एक समय ममता बनर्जीका निकट सहयोगी रहेका अधिकारी सन् २०२१ अघि भाजपा प्रवेश गरेका थिए।
यसपटक उनले भवानीपुरबाट ममता बनर्जीलाई पराजित गरेपछि उनको राजनीतिक हैसियत थप मजबुत भएको छ। यद्यपि, ममता बनर्जीको तृणमूल कांग्रेस (टिएमसी) सँगको विगत र राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) को पृष्ठभूमि नहुनु उनको दाबेदारीमा केही प्रश्न उठाउने आधार बनेका छन्।
स्वपन दासगुप्ता
पूर्वपत्रकार तथा राज्यसभा सदस्य स्वपन दासगुप्ताको नाम पनि सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा छ।
केन्द्रसँग नजिक सम्बन्ध, बौद्धिक छवि र नीति निर्माणमा अनुभव उनका सकारात्मक पक्ष मानिन्छन्। तर बंगालको क्षेत्रीय राजनीतिमा उनको प्रभाव सीमित रहेको विश्लेषण गरिन्छ। यसले उनको दाबेदारीलाई केही कमजोर बनाउँछ।
दिलीप घोष
भाजपाका वरिष्ठ नेता तथा पूर्व प्रदेश अध्यक्ष दिलीप घोष पनि महत्त्वपूर्ण दाबेदारमध्ये एक हुन्।
आरएसएस पृष्ठभूमिबाट आएका उनले राज्यमा पार्टीको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। विशेषगरी २०१९ को लोकसभा चुनावपछि बंगालमा भाजपाको प्रभाव बढाउन उनको योगदान उल्लेखनीय मानिन्छ। उनको आक्रामक शैली र क्षेत्रीय पकडले उनलाई बलियो प्रतिस्पर्धी बनाएको छ।
शमिक भट्टाचार्य
हालका प्रदेश भाजपा अध्यक्ष शमिक भट्टाचार्य संगठनात्मक नेतृत्वका कारण चर्चामा छन्।
लामो समयदेखि पार्टीसँग आबद्ध उनी बुथ व्यवस्थापन, आन्तरिक संरचना सुदृढीकरण र चुनावी रणनीतिमा सक्रिय छन्। तर पार्टीभित्रको गुटबन्दी व्यवस्थापन उनका लागि चुनौतीपूर्ण पक्ष मानिन्छ।
शंकर घोष
उत्तर बंगालका प्रभावशाली नेता शंकर घोष पनि चर्चामा आएका छन्।
सिलगुडीबाट निर्वाचित उनले यसपटक ठूलो मतान्तरले जित हासिल गरेका छन्। स्थानीय स्तरमा बलियो जनसम्पर्क र संगठनात्मक क्षमता भएका कारण उनलाई सम्भावित उप-मुख्यमन्त्रीका रूपमा पनि हेरिएको छ।
अग्निमित्रा पाल
महिला अनुहारका रूपमा अग्निमित्रा पालको नाम पनि चर्चामा छ।
पूर्व फेसन डिजाइनर रहेकी उनी २०१९ पछि राजनीतिमा सक्रिय भएकी हुन्। राष्ट्रिय प्रवक्ता तथा उदीयमान नेताका रूपमा चिनिएकी पाललाई मुख्यमन्त्रीभन्दा सरकारमा महत्त्वपूर्ण जिम्मेवारी दिइने सम्भावना बढी देखिन्छ।