केरल विधानसभा चुनावमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेतृत्वको 'लेफ्ट डेमोक्रेटिक फ्रन्ट' (एलडिएफ) को हारले धेरैलाई आश्चर्यमा पारेको छ।
सन् २०२१ मा ९९ सिट जितेको भारतीय कम्युनिस्ट पार्टी यसपटक २६ सिटमा झरेको छ, जुन करिब २५ प्रतिशत मात्र हो। यहाँ २१ मध्ये १३ मन्त्रीले हार बेहोरे भने पार्टीभित्रैबाट विद्रोह गरेर चुनाव लड्ने नेताहरू पनि देखिए।
यसपालि केरल विधानसभा चुनावमा कम्युनिस्ट पार्टीलाई हराउँदै कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ) ले १०२ सिटको ऐतिहासिक जित हासिल गरेको छ। भारतमा कम्युनिस्ट दलहरू सत्तामा रहेको एकमात्र राज्य केरल नै थियो।
कम्युनिस्ट पार्टी कार्यकर्ता र समर्थकहरू यो नतिजाबाट खासै विचलित देखिएका छैनन्। केही कार्यकर्ताले पार्टी र सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि रहेको बिबिसीलाई बताएका छन्। उनीहरूका अनुसार समस्या विकास वा कल्याणकारी योजनामा नभई नेतृत्वको कार्यशैलीमा थियो।
'हामीले गरेका कामभन्दा बढी हामीले कसरी काम गर्यौं भन्ने कुरा जनतालाई मन परेन,' एक नेतालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
राजनीतिक विश्लेषकहरू भने यस विषयमा अझ स्पष्ट छन्।
राजनीतिक टिप्पणीकार जे प्रभासका अनुसार यो सामान्य सत्ता-विरोधी लहर मात्र थिएन, बरू सीधा रूपमा मुख्यमन्त्री पिनाराई विजयन विरूद्धको असन्तुष्टि थियो।
'सत्ता पूर्ण रूपमा विजयनमा केन्द्रित भयो। उनी नै सरकार, उनी नै पार्टी र उनी नै एलडिएफ बने,' उनले भने।
मतगणना क्रममा स्वयं विजयनलाई पनि दबाब महसुस भएको थियो। उनले अन्ततः १९ हजार २४७ मतान्तरले जिते, जुन अघिल्लो चुनावको तुलनामा निकै कम हो।
विश्लेषकहरूका अनुसार यो वामपन्थी विचारधाराको पूर्ण अस्वीकार होइन, बरू नेतृत्वविरूद्धको प्रतिक्रिया हो।
वरिष्ठ विश्लेषक एमजी राधाकृष्णनले पनि यही धारणा दोहोर्याउँदै सरकारको सकारात्मक उपलब्धिको श्रेय विजयनलाई दिनुपर्ने भए पनि नकारात्मक पक्षको जिम्मेवारी पनि उनैले लिनुपर्ने बताए।
उनले विपक्ष, मिडिया र आलोचकहरूप्रति देखिएको व्यवहार, अहंकार र पार्टीभित्र लोकतन्त्रको कमी मुख्य कारणका रूपमा औंल्याएका छन्।
यसबीच, अर्का विश्लेषक एमभी गोविन्दनले यो हारलाई ठूलो झट्का भन्दै यसको समीक्षा गरिने र आवश्यक सुधार गरिने बताएका छन्।
यसबीच अल्पसंख्यक समुदायको मतसमेत निर्णायक बनेको देखिन्छ। मुसलमान र इसाई समुदाय, जसले अघिल्लो चुनावमा केही हदसम्म एलडिएफलाई समर्थन गरेका थिए, उनीहरू यसपटक ठूलो मात्रामा कंग्रेसतर्फ सरेका छन्।
यसले युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ) लाई १०२ सिटको ऐतिहासिक जित दिलायो।
विश्लेषकहरूका अनुसार भारतीय कम्युनिस्ट पार्टीले 'नरम हिन्दुत्व' को रणनीति अपनाउनु, केही विवादास्पद अभिव्यक्ति र त्यसप्रति पार्टीभित्र प्रतिक्रिया नआउनुले अल्पसंख्यक समुदाय टाढिने वातावरण बनायो।
त्यही बेला कंग्रेसले एकजुट अभियान चलाउँदै जनतासँग प्रत्यक्ष संवाद बढायो, जसको प्रतिफल चुनावी परिणाममा देखियो।
समग्रमा हेर्दा, केरलको यो परिणाम कुनै एक कारणको परिणाम नभई नेतृत्व शैली, आन्तरिक संरचना, राजनीतिक सन्देश र मतदाताको मनोविज्ञान सबैको मिश्रित प्रभावका रूपमा देखिएको छ।