प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा समितिका सभापतिहरूसँग छलफल गरेका छन्।
सभामुख अर्यालले सोमबार समिति सभापतिहरूसँग पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा छलफल गरेका हुन्।
नेपालमा संसदीय समितिहरूमा पत्रकारको प्रवेश खुला रहँदै आएको छ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले समिति बैठकमा पत्रकारको पहुँच नियन्त्रण गर्ने विषयमा सभामुखकै प्रस्तावमा छलफल भएको सेतोपाटीलाई बताए।
'सभामुखले बैठकमा दश बाह्र वटा बुँदा प्रस्तुत गर्नुभयो,' खड्काले भने, 'समितिमा पत्रकारलाई नियन्त्रण गर्ने खालको कुरा उठेको थियो। हामीले प्रभावकारी बनाउनुपर्छ भनेका छौँ।'
सभामुख अर्यालले पत्रकारहरूको प्रवेश र पहुँच कहाँसम्म दिने हो भन्ने विषयमा छलफलका लागि बैठकमा विषय प्रवेश गराएका थिए।
'मिडियालाई कतिसम्म पहुँच दिने भन्ने विषय उठ्यो। मिडियालाई सबै बैठकमा राख्ने कि नराख्ने भन्ने विषय आयो,' खड्काले भने, 'मैले बैठक खुला राख्नुपर्छ भनेँ। संसदीय समितिमा राख्ने विषय कसैको व्यक्तिगत कुरा होइन। जनतालाई जानकारी गराउने कुरा हो। जनताका प्रतिनिधिले राख्ने कुरा सार्वजनिक रुपमा राख्न हामीलाई केही डर छैन भनेको छु।'
सभामुख समक्ष आफूले संसदीय समितिहरूलाई विज्ञ उपलब्ध गराउनपर्ने विषय उठाएको समेत उनले बताए।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि बैठकमा पत्रकारहरूको प्रवेशबारे कार्यविधि बनाउने विषयमा छलफल भएको बताए। साथै पत्रकार प्रवेश सम्बन्धी कार्यविधि परिमार्जन गर्ने विषय उठेको उल्लेख गरे।
'पत्रकारलाई अलिकति धेरै नै खुला भयो कि भन्ने विषय उठेको छ। सांसदहरूले राम्रोसँग बोल्न पाएनन् र प्रचारमुखी ढंगले बोले कि भन्ने विषय आएका छन्,' गिरीले भने, 'पत्रकारहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको छ।'
संसदीय समितिका अर्का एक सभापतिले समिति बैठकको निर्णय मात्र मिडियामा सुनाउने र छलफल गोप्य गर्ने प्रस्ताव समेत सभामुख र संसद सचिवालयबाट आएको बताए।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकी सभापति सुम्निमा उदासले पनि पत्रकारहरूको प्रवेशका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको सेतोपाटीलाई बताइन्।
समिति सभापति र सभामुखबीचको छलफलमा मिडियाका विषयमा गम्भीरतापूर्वक छलफल भएको सचिवालयका एक अधिकारीले बताए।
'अलि बरिष्ठ पत्रकारहरूलाई पठाउन मिडिया हाउसलाई आग्रह गरौँ भन्ने कुरा भयो,' ती अधिकारीले भने, 'त्यसो हुँदा जिम्मेवार रूपमा रिपोर्टिङ हुन्छ भन्ने कुरा भयो। पत्रकारको कार्यविधिबारे पनि छलफल गर्ने कुरा भएको छ।'
बैठकमा समितिका सचिवहरूले २०५२ ठूलो छलफलपछि संसदीय समिति खुला भएको जानकरी समिति सभापतिहरूलाई गराएका थिए। तर नयाँ नयाँ पत्रकार र न्यू मिडियाका पत्रकारहरूलाई तालिम दिनुपर्ने धारणा समिति सभापतिहरूले राखेका थिए।
कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले मिडियाको व्यवस्थापनका विषयमा छलफल भए पनि नियन्त्रण गर्ने विषयमा छलफल नभएको बताइन्।
'विषयवस्तु बुझेका पत्रकारहरूले गर्ने रिपोर्टिङ र कन्टेन्ट क्रिएसनका लागि गरिने रिपोर्टिङ फरक हुन्छ भन्ने हिसाबले छलफल भयो,' बाँस्कोटाले भनिन्, 'बैठकमा बोलेको विषयमा गलत भाष्य नजाओस् भन्ने हो। सबै समितिमा मिडिया व्यवस्थापन एक ढंगले गर्ने कुरा भएको हो। नियन्त्रण गर्ने र निषेध होस् भन्ने होइन।'
प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले यसअघि नयाँ नियमावली सम्बन्धी छलफलमा पत्रकारहरूको प्रवेश रोकेका थिए। पत्रकारहरूले उक्त समितिमा प्रवेश रोकिएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए।