नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले आफूलाई दल नेताबाट हटाउनु मुर्खतापूर्ण निर्णय भएको प्रतिक्रिया दिएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज विराटनगरमा गरेको कोशी प्रदेशस्तरीय भेलामा सहभागी रहेका सिटौलालाई केही समयअघि कांग्रेसले राष्ट्रिय सभा दल नेताबाट हटाएकोबारे सोधिएको प्रश्नमा उनले यस्तो निर्णय हुनु मुर्खतापूर्ण भनेका हुन्।
‘यो निर्णयकर्ताहरूको मुर्खतापूर्ण निर्णय हो, अरू केही भन्नु छैन,’ उनले प्रतिक्रिया दिए।
सिटौलालाई शेरबहादुर देउवा संसदीय दल नेता हुँदा राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए।
भीष्मराज आङ्देम्बे संसदीय दल नेता भएपछि सिटौलालाई दल नेताबाट हटाएर राष्ट्रिय सभा सांसद कमला पन्तलाई दल नेता मनोनीत गरेका थिए।
नेता सिटौलाले फरक प्रसंगमा केन्द्रीय सदस्य मनोनीत गर्ने कार्यले पार्टी एकतामा बल नपुग्ने पनि बताए।
सभापति गगन थापाले सोमबार १९ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। गत पुसको विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा र नेता शेखर कोइराला पक्षका १९ जनालाई सभापति थापाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।