नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत १२ उपसमितिका संयोजक चयन भएको छ।
प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माले विभिन्न उपसमिति संयोजकहरू तोकेका हुन्।
भूमि व्यवस्था विशेष अभियान उपसमिति संयोजन गोपाल दहितले गर्नेछन्। सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी यो उपसमितिले गर्नेछ।
विपद व्यवस्थापन उपसमिति संयोजन मानबहादुर थापाले गर्नेछन्। पूर्व तयारी, उद्धार र पुनर्स्थापना सहजीकरण अभियानमा यो उपसमिति सक्रिय रहने पार्टीले जनाएको छ।
मानसिक स्वास्थ्य सचेतना अभियान उपसमिति संयोजन मोहना अन्सारी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति संयोजन दिपेश विष्ट, निर्वाचन प्रणाली सुधार : अवधारणा, संवाद र समन्वय उपसमिति संयोजन जनक चटौतले गर्नेछन्।
पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन अमृत ज्ञवालीले गर्नेछन्। पुँजिगत बजेट खर्च प्रणालीमा सुधार र पूर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव रहनेछ।
उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति संयोजन खगेन्द्र आचार्य, शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति संयोजन कृष्णप्रसाद पौडेल, बी.पी. ज्ञान केन्द्र उपसमिति संयोजन प्रकाश लामिछानेले गर्नेछन्।
जातीय विभेदविरूद्ध सचेतना अभियान उपसमिति संयोजन एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति संयोजन प्रकृति भट्टराई, ग्रीन टेबल उपसमिति संयोजन कञ्चन झा छन्।
सबै उपसमितिले आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्नेछन्। बैठकले प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।