नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका गुट भत्काइने बताएका छन्।
आज धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय कार्यक्रममा बोल्दै पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति शर्माले भने, ‘अबको नीति गुट भत्काउने, पार्टी बनाउने हो।’
उनले गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी रहेका र नरहेका दुवै पक्षलाई पार्टीले जिम्मेवारी दिँदै आइरहेको पनि बताए।
‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ तर विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछl यो गुट भत्काउने पार्टी बनाउने बाटो हो,’ शर्माले भने।
केही दिनअघि सभापति गगन थापाले विशेष महाधिवेशनमा भाग नलिएका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र शशांक कोइरालानिकट १९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
साथै उपसभापति शर्माले क्रियाशील सदस्यता अद्यावधिक गर्न वडा सभापतिलाई विश्वास गर्न आग्रह गरे।
केन्द्रीय समितिबाहेक सबै समिति १४ औं महाधिवेशनकै बेलाको छ।
‘सभापति गगन थापालाई विश्वास नगर्नुस् ठिक छ तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्l क्रियाशील सदस्यता अधावधिक गर्ने गगन थापाले होइन, वडा वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो,’ उनले भने।
उनले संस्थापनइतर नेताहरूलाई लक्ष्य गर्दै कोप्रति आशंका देखाएको भन्ने प्रश्न गरेका छन्।
‘अधावधिक गर्ने उनै १४ औं महाधिवेशन क्रममा चयन भएका वडा सभापति, पालिकामा उनै सभापति, अनि जिल्ला सभापति उनै होइनन् र?,’ उनले भने।