परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ।
झाको मुद्दा अदालतमा विचाराधीन नै रहेको भन्ने सूचनाले सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालयले आज क्षमा मागेको हो।
‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ मन्त्रालयले भनेको छ, ‘पछिल्लो जानकारी अनुसार एक्सपर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ।’
त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झालाई अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परेका थिए।
अमेरिका-इजराइल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरू हुनु अगाडि नै झासहित अन्य ६ जना विदेशीलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।
१५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तेइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी गराएका थिए।
त्यही ब्यहोराको सूचना परराष्ट्र मन्त्री शिशिर खनाल, सचिव लगायतलाई दिइएको थियो। त्यसकै आधारमा मन्त्री खनाल एवं मन्त्रालयले झाको रिहाइबारे सूचना सम्प्रेषण गरेका थिए।
