नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेकोमा लालटिन बालेर विरोध जनाउने भएको छ।
मंगलबार दिउँसो सवा १ बजेतिर बारको परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।
‘लालटिन बाली अदालतको प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोध सहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्नेछौं,’ उनले भने।
प्रशासनले निवेदनलाई दर्ता नगरी राख्नु अधिकार बाहिरको काम र न्याय मार्गमा अवरोध पुर्याएको बारले ठहर गरेको छ।
‘सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु स्पष्टतः प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुर्याउने कार्य भएको नेबाए ठहर गर्दछ। न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने का.मु. प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो प्रष्ट धारणा छ,’ बारले भनेको छ।
त्यसैगरी सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई प्रतिनिधि सभामा यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले बोलेका थिए। यस विषयलाई पनि बारले ध्यानाकर्षण भएको बताउँदै दु:खद् भएको बताएको छ।
बारले त्यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन र पुनः यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट आदेश गर्न सभामुखलाई अनुरोध समेत गरेको छ।
