श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खोई भनेर प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले उभौली पर्वमा गाइने गीति लयको भाकासँगै सरकारको खोजी गरेका हुन्।
‘सोई ढोले सोई, केन्द्रीय सरकार खोई! सभामुख महोदय! मैले आजभन्दा धेरै अगाडि चैत १ र २ गते हावाहुरीले उडाएको जनताहरूको घरको विषयमा मैले सदनमा सरकारलाई अनुरोध गरेको थिएँ,’ उनले भने, ‘आजसम्म पनि केन्द्रीय सरकारबाट कुनै राहत ती ६५ वटा घरमा पुगेको छैन। त्यस्तै आठ वटा स्कुलहरूको छानाहरू उडाएको मैले तपाईंहरूलाई यहाँ अवगत गराएको थिएँ। मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ।’
गृहमन्त्रीलाई भेटेर पनि उक्त कुराहरू राखेको उनले सुनाए।
‘यो आवाजहरू, जनताको आवाजहरू, भोजपुरे जनताको आवाजहरू नसुनेको कुरा, मैले उभौली साकेलाको शुभकामनासँगै राखेको छ, अबचाहिँ सुन्नुहुन्छ कि भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने।