सभामुख डोलप्रसाद अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबीच प्रतिनिधि सभा बैठकमा सवाल जबाफ भएको छ।
प्रतिनिधि सभा बैठकमा बुधबार दुई वटा मन्त्रीले संसदको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जबाफ दिने कार्यक्रम थियो।
सोही अनुसार सुरूआतमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रोष्टमबाट सम्बोधन गरिरहेका थिए। उनले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको, फोरजी नेटवर्कको गुणस्तर वृद्धि गर्ने बताइरहेका थिए।
त्यतिकैमा श्रम संस्कृति पार्टीका दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले उठेर सुझाव राख्न थाले। उनले धरानको विषयमा सुझाव दिन खोजेका थिए। तर सभामुख अर्यालले उनको 'माइक अन' गरिदिएनन्।
सभामुख अर्यालले त्यसपछि साम्पाङलाई 'समय मागेर विषयवस्तु जनाएर मात्र बोल्न' सुझाव दिए।
'मन्त्रीले विभिन्न समयमा उठेको प्रश्नमा जबाफ दिएकाले स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराउँछु,' सभामुख अर्यालले भने।
तर साम्पाङले भने सदनबाटै डिजिटल नेपाल सुरू गर्ने विषयमा सुझाव राख्न चाहेको बताए। साम्पाङ बोलिरहे पनि सभामुखले 'माइक अन' गरेनन्।
सभामुख अर्यालले साम्पाङलाई सम्झाउन खोजे, 'सभा सञ्चालन भइरहेका बेला मर्यादामा रहौँ।'
तर साम्पाङ रोकिएनन्।
'म प्रश्न राख्न चाहन्छु,' साम्पाङले भने, 'प्रश्न सोध्न नपाउने हो त मैले उहाँलाई? म सुझाव दिन चाहन्छु।'
लगत्तै सभामुख अर्यालले 'सभाको मर्यादा कायम राख्न निर्देशन' दिए।
साम्पाङ बसे।
त्यतिबेलासम्म मन्त्री तिमिल्सिना रोष्टममै थिए। सभामुखले मन्त्री तिमिल्सिनालाई बोल्न समय दिए।
'प्रश्नमा ध्यानाकर्षण भएको छ। फोरजी र टुजी नेटवर्क कमजोर रहेको विषयमा मैले जबाफ दिएको छु। नेटवर्क अप्टिमाइजेसन हाम्रो प्रायोरिटी हो,' मन्त्री तिमिल्सिनाले भने, 'एक वर्षभित्र यो क्षेत्रमा अनुभूत नगरिएको गरी अप्टिमाइजेसन गर्नेछौँ। अर्को प्रश्नोत्तरमा प्रश्न नआउने गरी काम गर्न प्रतिबद्ध छौँ।'
त्यसपछि बैठकमा श्रम तथा रोजगारमन्त्री रामजी यादवले विभिन्न समयमा उठेका प्रश्नको जबाफ दिए।
उनले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गर्ने बताए।
साथै वैदेशिक रोजगरिमा हुने ठगीका उजुरी आउनेक्रम जारी रहेको उल्लेख गर्दै विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने दाबी गरे।
मन्त्री यादवले अन्तिममा एउटा संस्कृतिको श्लोक सुनाए। अनि त्यसको अर्थ लगाए।
'न म राज्यको चाहना गर्छु। न स्वर्गको। न फेरि जन्म लिने इच्छा गर्छु। दु:ख पीडित प्राणीको कष्टको अन्त्य होस्', यादवले श्लोकको अर्थ लगाए।
मन्त्री बोली सकेलगत्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राई उठे।
सभामुख अर्यालले मन्त्रीको जबाफपछि फेरि नियमावली अनुसार 'मन्त्रीले सभाको विभिन्न समयमा उठेको प्रश्नको जबाफ दिनुभएकाले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी' गराए।
सभामुख अर्यालले सांसद राईलाई बस्न आग्रह गरे।
तर हर्क साम्पाङ फेरि उठे।
'अब्जेक्सन छ। यसरी हामीले उठाएको प्रश्नको जबाफ मन्त्रीले दिँदैन भने कसरी हुन्छ। सभामुखले सधैं रूलिङ मात्र गरिराख्नु हुन्छ। यसरी हुन्छ? हुँदैन,' राईले भने, 'हामीले राख्न चाहेको प्रश्नको उत्तर दिने होला नि। मनको गीत गाउने? गाइराख्ने हो। गाउनुस्, यो लोकतन्त्र हो?'
साम्पाङ उभिएर बोल्न थालेपछि सभामुख अर्याल केहीबेर चुप रहे।
'हामीले हाम्रो कुराको उत्तर पाएनौँ। जे जे गर्नुहुन्छ गर्नुस्,' राईले थपे, 'हामीले राख्न चाहेको विषयमा पो स्पष्टीकरण दिनुपर्छ। हामी मान्दैनौँ।'
सांसद आरेन राईले श्रममन्त्री यादवले पनि 'सञ्चारमन्त्रीले जस्तो लचिलो तरिकाले जबाफ दिनुपर्ने' बताए।
सभामुख अर्यालले सम्झाउन खोजे।
'माननीय सदस्यहरू मैले यसभन्दा अगाडि पनि भनेँ, सभा सञ्चालन भइरहेको बेला कुनै पनि सदस्यले नियमावलीमा टेकेर समय माग भएमा र सभामुखबाट समय प्राप्त भएमा आवश्यकता अनुसार समय दिइसकेपछि बोल्ने क्रम... हो।'
साम्पाङले नियमावलीको नियम १५ को २ अनुसार पनि रूलिङ गर्न आग्रह गरे। उक्त नियममा संसदको विभिन्न समयमा उठेको प्रश्नमा मन्त्रीहरूले एक साताभित्रै जबाफ दिनुपर्ने व्यवस्था छ।
सभामुख अर्यालले थपे, 'छुटेका कुराहरू सभाको आवश्यकता अनुसार जबाफ दिनेछौं भनेर मन्त्रीहरूले प्रष्ट पार्नुभयो। छुटेको भए सचिवालयमा सम्पर्कमा गर्न मन्त्रालयबाट सम्बोधन गर्न तयार छु भनिसक्नुभयो।'
सभामुखले आरेन राईले मन्त्रीको शैलीमा उठाएको विषयमा पनि प्रतिरक्षा गरे।
'हरेक मन्त्रीले बोल्ने भाषाको शैली एउटै तरिका एउटै हुनपर्छ भन्ने छैन,' अर्यालले आक्रोश मिश्रित लवजमा भने, 'कसैले टुक्का भन्नुभयो भने त्यो टुक्का पनि लागू नै हुनुपर्छ भन्नु भएन... सभाले त्यही दिइरहने हो।'
सभामुख अर्याल रिसाए।
'आज तीन चोटि रूलिङ गरिसकेको छु,' अर्यालले रिसाउँदै भने, 'मर्यादामा बस्नुस्, माननीय सदस्य बस्नुस्।'
साम्पाङले सोधे, 'हामीले प्रश्न सोध्न पाउने हो कि हैन?'
सभामुखले जबाफ दिए, 'माननीय सदस्यहरूले प्रश्न सोध्न पाउनुहुन्छ। यहाँहरूलाई समय दिन्छु। कुरा राख्न पाउनुहुन्छ। माननीय सदस्यहरूको हरेक दिन गरेको व्यवहार संविधान कानुन र नियमावली भन्दा फरक छ। मर्यादा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक अभद्र व्यवहार गरिरहनु भएको छ। यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ।'
सभामुखले थपे, 'मैले सभ्य भाषामा यहाँहरूले समय माग्नुस् विषयवस्तुका आधारमा समय दिन्छु भनिरहेका छु।'
साम्पाङले सोधे - हामीले सभा अवरूद्ध कहिले गरेको छौँ?
सभामुखले भने - '...जुनसुकै बेला पनि, सभाको मर्यादा हुन्छ।
त्यसपछि साम्पाङको पार्टीका अर्का सांसद चिच्याए।
'जनताले उठाएको प्रश्न सोध्न पाउनुपर्छ। के गर्नुहुन्छ तपाईंहरूले? आवाज बन्द गर्नुहुन्छ?'
साम्पाङ पनि सँगसँगै बोले - 'हामीले प्रश्न सोध्दाखेरी रूलिङ गर्ने... त्यसरी हुन्छ? हुँदैन। मान्दैनौँ। प्रतिपक्षीले प्रश्न सोध्न पाउनुपर्छ। सरकारले उत्तर दिने हो। सत्तापक्षका सांसदले जबाफ दिने होइन। विधि सबैले मान्नुपर्छ। सबैलाई नियम लगाउनुस्। प्रतिपक्षीले एउटा प्रश्न सोध्न खोज्दा रूलिङ गरिहाल्ने। मनमा त हजारौँ प्रश्न छ। तर एउटा प्रश्न सोध्न खोज्दा रूलिङ गर्ने!'
श्रम संस्कृति पार्टीका अर्का सांसद चिच्याए - 'के गर्नुहुन्छ? तपाईंहरू पनि अघिल्लो सदनमा सानै हुनुहुन्थ्यो।'
त्यसपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड झ तर्फ ध्यानाकर्षण गराए। उक्त नियममा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकमा मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने व्यवस्था छ।
उनले सांसदहरूलाई नियम २१ को 'क' पनि सम्झाए। उक्त नियममा सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने व्यवस्था छ।
सभामुख अर्यालले आजै प्लाकार्ड देखाएको विषयमा श्रम संस्कृति पार्टीका सांसदहरूलाई बैठकबाट बाहिर निकाल्न सक्ने व्यवस्था सम्झाएका छन्।
उनले प्रतिनिधि सभा नियमावली अनुसार बैठकमा अभद्र व्यवहार गरेको भन्दै हर्क साम्पाङ सहितका सांसदहरूलाई व्यवहार नियन्त्रण गर्न चेतावनी दिएका थिए। सभामुखले दिएको चेतावनी अनुसार सांसदले व्यवहार नियन्त्रण नगरे सभामुखले बैठक कक्षबाट निष्कासन गर्न सक्ने व्यवस्था लगत्तैको नियममा छ।