राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ।
पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री र संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा स्पष्टीकरण सोधिएको हो।
श्रेष्ठले आफ्नै अध्यक्षतामा निलम्बित सांसदहरूलाई अतिथि बनाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए।
पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई कार्यक्रममा आमन्त्रण गरी स्वागत तथा सम्मान गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई अनुशासन समितिले गम्भीरतापूर्वक लिएको जनाएको छ।
पार्टीको निर्णय र अनुशासन उल्लंघन गरेका कारण निलम्बनमा परेका व्यक्तिहरूलाई पार्टीका कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीत भएको ठहर गर्दै समितिले अध्यक्ष श्रेष्ठलाई यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको पार्टीले जनाएको छ।
अनुशासन समितिका अध्यक्ष तथा पार्टीका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरूलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन सबै जिल्लालाई आग्रह गरेको समितिका सदस्यसचिव गोपाल दाहालको भनाइ छ।