अमेरिकाले युक्रेन हुँदै युरोपमा रूसी प्राकृतिक ग्यासको बिक्री पुनः सुरु गर्ने प्रस्ताव अघि सारेको छ।
आगामी हिउँदअघि रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति गराउने प्रयास स्वरूप अमेरिकाले यस्तो प्रस्ताव अघि सारेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
अमेरिकी, युरोपेली र युक्रेनी अधिकारीहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए रूसले युक्रेन हुँदै पाइपलाइन मार्फत युरोपमा ग्यास बेच्न पाउनेछ।
तर युरोपेली प्रतिबन्ध छल्न अमेरिकी मध्यस्थ कम्पनी प्रयोग गर्ने योजना छ। यसबाट अमेरिकी लगानीकर्ताले समेत ठूलो आर्थिक लाभ लिन सक्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत ज्यारेड कुश्नर र स्टिभ विटकफले गत सेप्टेम्बरमा मस्को र किभ भ्रमणका क्रममा यो प्रस्ताव राखेका थिए।
छलफलमा सहभागी अधिकारीहरूका अनुसार यसलाई रूसलाई युद्धविरामका लागि सहमत गराउने आर्थिक प्रोत्साहनका रूपमा हेरिएको छ।
अमेरिकी वार्ताकारहरूको बुझाइमा युरोपको ठूलो ऊर्जा बजारमा पुनः प्रवेश गर्न पाउने सम्भावनाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न सहमत गराउन सक्छ।
यसबाट युक्रेनले पनि आफ्नो भूमिबाट ग्यास लग्न दिए बापत शुल्क पाउनेछ।
तर युरोपेली संघ (इयू) को अहिलेको नीतिसँग यो प्रस्ताव मेल खाँदैन।
इयूले सन् २०२७ को अन्त्यसम्म रूसी प्राकृतिक ग्यासको आयात पूर्ण रूपमा बन्द गर्ने कानुन बनाइसकेको छ। युरोपका प्रमुख देशहरूले पनि रूसलाई रणनीतिक खतरा मान्दै फेरि रूसी ऊर्जा आपूर्तिमा निर्भर हुने इच्छा नरहेको बताउँदै आएका छन्।
इयूका ऊर्जा आयुक्त डान योर्गेन्सेनले गत अक्टोबरमा एक हंगेरी सञ्चारमाध्यमसँग कुरा गर्दै रूसी ग्यास आयातमाथिको प्रतिबन्ध स्थायी हुनुपर्ने बताएका थिए। रूससँग भोलि नै शान्ति भए पनि उसलाई विश्वास गर्न नसकिने उनको भनाइ थियो।
युरोपेली अधिकारीहरूले निजी छलफलमा अमेरिकी प्रस्तावको अझ कडा आलोचना गरेका छन्। एक नर्डिक अधिकारीले रूसी ग्यास खरिद पुनः सुरु गर्नु युरोपेली मूल्य र मान्यता विपरीत हुने बताएका छन्।
अर्को एक वरिष्ठ अधिकारीले यसलाई दोस्रो विश्वयुद्धअघि बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनले हिटलरसँग सम्झौता गरेर चेकोस्लोभाकियालाई छाडिदिएको घटनासँग तुलना गरेका छन्।
अमेरिकी प्रस्ताव अनुसार युरोपमा ग्यास बेचेर रूसले प्राप्त गर्ने रकम तेस्रो मुलुकको अधिकार क्षेत्रभित्र रहने एउटा विशेष खातामा जम्मा गरिनेछ। यसलाई 'एस्क्रो खाता' भनिन्छ। यस्तो व्यवस्थाले रूसले ग्यास बिक्रीबाट प्राप्त रकम तत्काल आफ्नो युद्ध खर्चमा प्रयोग गर्न नपाउने अमेरिकी अधिकारीहरूको तर्क छ।
अमेरिकाले युरोपलाई ग्यासको मूल्य घटाउने उपायका रूपमा पनि यो प्रस्ताव बेच्न खोजेको छ। आगामी हिउँदमा ऊर्जा अभाव हुन सक्ने चिन्ताबीच सस्तो ग्यासले युरोपलाई राहत दिने उसको विश्वास छ।
तर यो प्रस्ताव ट्रम्पको पहिलो कार्यकालको नीतिभन्दा ठीक उल्टो हो।
त्यतिबेला उनले जर्मनीकी तत्कालीन चान्सलर एन्जेला मर्केललाई रूसबाट ग्यास ल्याउन बनाइएको नर्ड स्ट्रिम-२ पाइपलाइन निर्माण गरेको भन्दै आलोचना गरेका थिए।
उक्त पाइपलाइनले जर्मनीलाई रूसको नियन्त्रणमा पुर्याउने चेतावनी दिँदै ट्रम्प सरकारले सन् २०१९ मा त्यस विरुद्ध प्रतिबन्ध समेत लगाएको थियो।
त्यसको दुई वर्षपछि रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्यो। ऊर्जा बिक्रीबाट प्राप्त आम्दानीले रूसी सेनालाई आर्थिक स्रोत उपलब्ध गराइरहेको थियो। युरोप रूसी ग्यासमा अत्याधिक निर्भर भएकाले कडा प्रतिक्रिया दिन नसक्ने पुटिनको आकलन थियो।
तर युद्धपछि युरोपले ऊर्जा निर्भरतालाई सुरक्षा जोखिमका रूपमा लिन थाल्यो। युद्धअघि युरोपले खपत गर्ने प्राकृतिक ग्यासको करिब ४५ प्रतिशत रूसबाट आउँथ्यो। अहिले त्यो घटेर ११ प्रतिशतमा झरेको छ।
युरोपको कुल ग्यास खपतमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को हिस्सा करिब ३० प्रतिशत पुगेको छ।
रूसबाट जर्मनी पुग्ने नर्ड स्ट्रिम-१ र नर्ड स्ट्रिम-२ पाइपलाइन पनि अहिले सञ्चालनमा छैनन्। सन् २०२२ को सेप्टेम्बरमा समुद्रमुनि भएका विस्फोटबाट दुवै पाइपलाइन क्षतिग्रस्त भएका थिए। नर्ड स्ट्रिम-१ ले त्यही वर्ष अगस्टदेखि ग्यास आपूर्ति बन्द गरेको थियो भने नर्ड स्ट्रिम-२ कहिल्यै सञ्चालनमा आउन पाएन।
तर युक्रेन हुँदै स्लोभाकिया, अस्ट्रिया र जर्मनी पुग्ने पुरानो पाइपलाइन सञ्जाल भने तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा छ। सन् २०२५ जनवरीमा बन्द हुनु अघिसम्म युद्धकै बीचबाट सीमित मात्रामा रूसी ग्यास यही मार्गबाट युरोप पुगिरहेको थियो।
इरान युद्धले बदल्न सक्छ युरोपको अडान
अमेरिकी प्रस्तावप्रति युरोपको प्रतिरोध कमजोर हुन सक्ने अर्को कारण इरान युद्ध पनि हो। युद्धका कारण कतारबाट हुने एलएनजी आपूर्ति प्रभावित भएको छ।
विश्व बजारमा ऊर्जा मूल्य बढ्दा युरोपले इरान युद्धका कारण मात्रै थप १०० अर्ब युरो ऊर्जा खर्च गर्नुपरेको इयूको तथ्यांक छ।
युरोपका भूमिगत ग्यास भण्डार अहिले करिब ७५ प्रतिशत भरिएका छन्। तर आगामी हिउँदमा प्रवेश गर्दा भण्डारण पछिल्ला नौ वर्षको औसतभन्दा कम हुने अनुमान छ।
यता जर्मनीको दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले सन् २०२८ को निर्वाचनलाई लक्षित गर्दै सस्तो रूसी ग्यासको आयात पुनः सुरु गर्नुपर्ने विषयलाई प्रमुख चुनावी मुद्दा बनाएको छ।
कूटनीतिक अधिकारीहरूका अनुसार युक्रेन स्वयंले युद्धविरामको हिस्साका रूपमा रूसी ग्यास बिक्रीलाई समर्थन गरे युरोपको अडान परिवर्तन गर्न सहज हुन सक्छ। रूसी आक्रमणका कारण युक्रेनका ऊर्जा संरचना ध्वस्त भइरहेका बेला ग्यास आपूर्तिसँगै ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सके युक्रेनी सहरहरूमा हुन सक्ने विद्युत् संकट र मानवीय विपत्ति टर्न सक्छ।
तर युक्रेनले यसअघि अमेरिकी दबाबमा रूसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण झन्डै दुई साताका लागि रोके पनि रूसले युक्रेनी ऊर्जा संरचनामाथिको आक्रमण जारी राखेको थियो। त्यसपछि युक्रेनले पुनः रूसी प्रशोधन केन्द्रलाई निशाना बनाउन थालेको छ।
नोभेम्बरको मध्यतिर अबुधाबीमा अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय शान्तिवार्ता गर्ने तयारी छ। त्यसअघि ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति गराउने प्रयास भइरहेको छ। तर रूसले अहिलेसम्म अमेरिकाको यस्तो प्रस्ताव स्वीकार गरेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)