नेकपा एमालेमा पदाधिकारीहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ।
सोमबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष लगायत सचिवालय सदस्यहरूको कार्यविभाजन प्रस्ताव गरिएको हो।
शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ।
प्रस्तावित कार्यविभाजनअनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाहसम्बन्ध विभागहरूको कामको संयोजन गर्नेछन्।
उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध विभागहरूको कामको संयोजन गर्नेछन्। पृथ्वीसुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभागहरू, रघुजी पन्तले मानस्रोत सम्बद्ध विभागहरूको कामको संयोजन गर्नेछन्।
महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको नेतृत्व गर्नेछन्।
उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभागको प्रमुख प्रस्ताव गरिएको छ। उपमहासचिव रघुवीर महासेठले कृषि तथा उद्यमशीलतासम्बद्ध विभागहरूको कामको संयोजन गर्नेछन्।
उपमहासचिव योगेश भट्टराईले नीति तथा योजनासम्बद्ध विभागहरूको कामको संयोजन गर्नेछन्।
केही सचिवहरूलाई प्रदेश इन्चार्ज तोकिएको छ।
छविलाल विश्वकर्मा लुम्बिनी प्रदेश इन्चार्ज, पद्माकुमारी अर्याल संसदीय मामिला विभाग प्रमुख, खगराज अधिकारी गण्डकी प्रदेश इन्चार्ज, भानुभक्त ढकाल संगठन विभाग प्रमुख, यामलाल कँडेल कर्णाली प्रदेश इन्चार्ज, शेरधन राई कोशी प्रदेश इन्चार्ज तोकिएको छ। सचिव राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज, हिक्मतकुमार कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुख प्रस्ताव गरिएको छ।
महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज प्रस्ताव गरिएको छ। लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश इन्चार्ज तोकिएको छ।