प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताएका छन्।
त्यसका लागि ५/७ करोड बजेट व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
सांसदहरूले बाँदर आतंक रहेको भन्दै हटाउन सरकारसँग माग गरिरहेका छन्। एमाले सांसद राजेन्द्र राईले बाँदर हटाउन एक साताको अल्टिमेटमसमेत दिएका थिए।
त्यसतर्फ लक्ष्य गर्दै स्वतन्त्र सांसद महावीर पुनले संसदमा कराएर बाँदर नभाग्ने बताए।
‘बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर केही हुँदैन। यहाँ धेरै सांसदहरू कराएको देखियो,’ उनले भने, ‘बाँदरलाई कसरी हटाउने, बरू रकेट बनाउन सजिलो छ, प्रविधि छ। तर बाँदरलाई धपाउने प्रविधि संसारभर मैले खोजेको हो, उपाय छैन। यसका लागि पाँच/सात करोड बजेट अनुसन्धानमा खर्च गर्नुपर्छ।’
अहिलेको सरकारले बाँदर भगाउन अनुसन्धान गर्न टिम बनाउन लागेको आफूले जानकारी पाएको पनि उनले बताए।
‘अहिलेको सरकारले एउटा टिम गठन गर्दैछ भन्ने सुन्नमा आएको छ, त्यो टिममा मलाई पनि राख्नु भनेको छु, बाँदर आतंक कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपाय निकाल्ने हो, संसदमा कराएर बाँदर भाग्दैन, बाँदर बुद्धिमानी जनावर हो। बाँदरलाई भगाउन कोही पनि वैज्ञानिकले उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुँदा पनि हुँदैन,’ उनले भने।