नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि भनेर नवीकरण गरेका क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूप दिन अद्यावधिक गरिरहेको छ।
गत पुसमा नियमित महाधिवेशन गर्ने भनेर त्यसअघि नवीकरण गरेका सदस्यहरूको विवरण अहिले अद्यावधिक गरिएको हो।
पुसमा नियमित महाधिवेशन हुन नसकेर विशेष महाधिवेशन भई गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। यो कार्यसमितिले १५ औं महाधिवेशन असोजमा गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।
गत वैशाख १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक कार्य पनि अभियानकै रूपमा सुरू भएको थियो।
वैशाख १ देखि जेठ १७ गते बिहानसम्म २ लाख २५ हजार जनाले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्। कांग्रेसले क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल रूप दिन अद्यावधिक गरेको हो। यसअघि नवीकरण गरेका र नयाँ वितरण गरिएका सदस्यहरूको मात्र थप विवरण लिएर अद्यावधिक गरिएको छ।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्ष विशेष महाधिवेशनमा भाग लिएका थिएनन्।
उनीहरूले क्रियाशील सदस्यता नवीकरण गरिसकिएको भन्दै अद्यावधिक नगर्न पनि अपिल गरेका थिए। तर केही पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यबाहेक अधिकांशले क्रियाशील अद्यावधिक गरेका छन्।
केही जिल्ला, क्षेत्रीय सभापतिहरू र वडा सभापतिहरूले क्रियाशील अद्यावधिकमा 'अटेरी' गरेका छन्।
पार्टी निर्णय अटेरी गरेका ५० वडा सभापतिको ठाउँमा अद्यावधिक गर्ने कार्यका लागि मात्रै अर्कै व्यक्तिलाई जिम्मेवारी दिइएको सभापति गगन थापाले बताएका थिए।
कांग्रेसमा महामन्त्री प्रदीप पौडेल संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ।
यो समितिले अधिकांश प्रदेश पुगेर क्रियाशील अद्यावधिक गर्न आग्रह गरेको थियो भने पछिल्लो समय पदाधिकारीहरूलाई प्रदेश अनुसार खटाएर अनुगमन गर्न लगाइएको पनि छ।
त्यसैले पछिल्ला दिनमा क्रियाशील अद्यावधिक गर्ने कार्यले गति लिएको नेताहरू बताउँछन्।
क्रियाशील अद्यावधिक बारेमा सेतोपाटीले महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश-
आजसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने संख्या कति पुग्यो?
आज बिहान १० बजेसम्म दुई लाख २५ जना जनाले क्रियाशील सदस्यता अद्यावधिक गराइसक्नुभएको छ। एकै दिन (हिजो) शनिबार ३२ हजार जनाले क्रियाशील अद्यावधिक गराउनुभएको देखिन्छ। यही गतिमा अघि बढे बाँकी दिनमा क्रियाशील अद्यावधिक गरिसक्छौं।
पछिल्लो केही दिनदेखि क्रियाशील सदस्यता अद्यावधिक व्यापक ढंगबाट भइरहेको छ। सुरूका केही दिन भने राजनीतिक र प्राविधिक कुराले अलमल देखिएको थियो। कतिपय ठाउँमा सूचना कम पुगेर, प्रक्रिया मेसो नपाएर गर्न खोज्दाखोज्दै पनि अद्यावधिक काम ढिलो हुन गएको थियो, हामीले तत्काल समन्वय र सहजीकरणको काम गर्यौं।
राजनीतिक रूपमा पनि केही भ्रम छर्ने प्रयास गरिएका थिए, ती भ्रम चिर्ने काम भइरहेको छ। पछिल्ला दिनमा साथीहरूले व्यापक रूपमा अद्यावधिक गर्ने कार्य गरिराख्नुभएको छ।
जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई के हुन्छ?
हामीले क्रियाशील सदस्यता अद्यावधिक गर्न लामो समय दिएको हो। वैशाख १ गतेदेखि जेठ २१ गतेसम्म समय दिएका छौं। यति समय भनेको क्रियाशील अद्यावधिक काम गर्न पर्याप्त समय हो। कतिपय ठाउँहरूमा अटेर गरेको स्थिति पनि छ। अटेरी गरेका ठाउँमा पार्टी कडा रूपमा प्रस्तुत हुन्छ, भइरहेको पनि छ। यो पार्टीले सञ्चालन गरेको अभियान हो, कार्यान्वयन गर्दिनँ भन्न मिल्दैन।
पार्टीले सत्याग्रह गरौं भने जेल जानुपर्छ, शान्तिपूर्ण आन्दोलन गरौं भने सडकमा आउनुपर्ने हुन सक्छ, त्यस्तै अभियान हो यो पार्टीको। त्यसैले पार्टी निर्णय कार्यान्वयन गर्न जिम्मेवार साथीहरू लाग्नुपर्छ। हामीले क्रियाशील सदस्यको अद्यावधिक गरौं, विवरण डिजिटल गरेर सुरक्षित गरौं न भनेका हौं, नयाँ बाँड्ने भनेको त होइन।
केही नेताहरूले क्रियाशील अद्यावधिक नगर्न अपिल गरेका छन्, उनीहरूको हकमा के हुन्छ?
केही वरिष्ठ नेताहरूका हकमा ‘समय सकियो, अब हामी अद्यावधिक गर्न सक्दैनौं भनेर भन्दैनौं।’ तर क्रियाशील अद्यावधिक गर्ने अवधि भने बढाउने पक्षमा हामी छैनौं।
पुसअघि नै नवीकरण गरियो अहिले अद्यावधिक गर्दिनँ भन्नेहरू पनि छन्, उनीहरूले गर्नुपर्छ कि पर्दैन?
त्यही २०८२ सालमा नवीकरण र नयाँ क्रियाशील सदस्यता लिएकाहरूले नै अहिले अद्यावधिक गर्ने हो। नयाँ क्रियाशील सदस्यता बाँड्न यो अद्यावधिक गर्न लागेको होइन। हाम्रा नेता कार्यकर्ताहरूले पनि यो कुरा राम्रोसँग कुरा बुझ्नुपर्छ।
पहिले नवीकरण गरेकाले नै अहिले अद्यावधिक गर्ने भएकोले बेग्लै शुल्क तिर्नुपर्दैन। डिजिटल कार्ड (एनसी आइडी) बनाउन चाहिँ एक सय रुपैयाँ लाग्छ, त्यो शुल्क तिर्नुपर्छ।
क्रियाशील नवीकरण र अद्यावधिक फरक कुरा हो भन्ने नेताकार्यकर्ताले बुझ्नुपर्छ। नेताहरूले त बुझ्नुहुन्न भन्ने मलाई लाग्दैन। नवीकरण भइसकेका सदस्यहरूको मात्र हामीले अद्यावधिक गरेको हो, नयाँ सदस्य बनाएर अद्यावधिक गर्न मिल्दैन।
नवीकरण गरेका सदस्यहरूले अहिले किन अद्यावधिक गर्नुपर्यो?
नवीकरण गरेका क्रियाशील सदस्यहरूबारे पार्टीलाई सूचना कम भयो भन्ने लाग्यो। नवीकरण गरेका सदस्यहरूको नाम, ठेगाना थियो बाँकी विवरण पार्टीसँग केही थिएन। पार्टी सदस्यहरूको थप विवरण लिन अद्यावधिक गरिएको हो।
नवीकरण गर्दा नाम र ठेगाना मात्रै रहेका सदस्यहरूसँग अहिले हामीले टेलिफोन नम्बर, सामाजिक सञ्जाल आइडी, परिवार संख्या, लिंग, उमेरलगायत विवरण मागेको हो।
यी विवरणले गर्दा उमेर समूह, लिंग र समुदायका आधारमा पार्टीभित्र कसको कति उपस्थिति छ भन्ने देखाउँछ। गत पुसको विवरण अनुसार नवीकरण र नयाँ वितरण गरेर करिब ६ लाख हाराहारी क्रियाशील सदस्य हामीसँग छन्। यीमध्ये मुश्किलले एक लाख जनाको मात्र मोबाइल नम्बर पार्टीसँग होला।
अहिले सबै सदस्यको मोबाइल नम्बर लिन लागेका छौं। मोबाइल नम्बर भएपछि पार्टी सदस्य र नेतृत्व ह्वाटस्एपबाट आपसमा जोडिन र पार्टी अभियान प्रभावकारी ढंगले अघि बढाउन सहज हुन्छ भन्ने विश्वास छ। त्यसकारण थप विवरण चाहिएर, पार्टीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने उद्देश्यले क्रियाशील सदस्यता अद्यावधिक गरेका हौं।
पहिले नै नवीकरण गरिएको थियो अहिले किन अद्यावधिक भनेर प्रश्न गर्नुको अर्थ छैन। नवीकरण र अद्यावधिकबीच भिन्नता छुट्याउन नसकेको भए पार्टीले बुझाउँछ तर बुझेर पनि कार्यकर्ताहरूमा भ्रम सिर्जना गर्न खोजियो भने त्यो गलत हुन्छ।
दैनिक कति क्रियाशील सदस्यको विवरण सिस्टममा प्रविष्ट भएको छ?
अहिले दैनिक करिब ३० हजार हराहारी क्रियाशील सदस्यहरूको अद्यावधिक गर्न सिस्टममा इन्ट्रि गरेको अवस्था देखिन्छ। पछिल्लो समय क्रियाशील सदस्यता अद्यावधिक गर्ने साथीहरू बढ्दै जानुभएको छ।
अहिले ४२ सय वडा सभापतिहरू क्रियाशील अद्यावधिक गर्ने सिस्टममा सक्रिय हुनुहुन्छ। मलाई लाग्छ यो संख्या बढ्दै जान्छ।
प्रदेशअनुसार सदस्यता अद्यावधिक कार्य कहाँ कसरी भइरहेको छ?
क्रियाशील सदस्यहरूले अद्यावधिकका लागि इन्ट्री गर्ने क्रम सबैभन्दा बढी बागमतीमा छ। त्यसपछि क्रमश; लुम्बिनी, गण्डकी, कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छ, धमाधम क्रियाशील अद्यावधिक गर्ने काम भइरहेको छ।
वडा सभापतिहरू क्रियाशील अद्यावधिक सिस्टमभित्र प्रवेश गरेअनुसार प्रदेशहरूमा कहाँ, कस्तो अवस्था छ?
वडा सभापतिहरू सिस्टमभित्र प्रवेश गरेको अवस्था हेर्दा सबैभन्दा बढी लुम्बिनीमा छ। त्यसपछि गण्डकी, बागमती, कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम छ।
अब ४ दिन मात्र बाँकी छ, बाँकी वडाहरूमा यही समयमा क्रियाशीद्य अद्यावधिक सकिन्छ?
६ हजार ७ सय ४३ वडाहरूमध्ये आज बिहान १० बजेसम्म ४२ सय वडा सभापतिहरू सिस्टममा जोडिइसक्नुभएको छ। मलाई लाग्छ- आज ४५ सय वडासभापतिहरू सिस्टममा आइसक्नुहुन्छ। इन्टरनेट पहुँच नभएर, अद्यावधिकबारे पटक्कै जानकारी नभएर कही वडाध्यक्ष सिस्टममा जोडिन सक्नुभएको छैन, हामीले समन्वय गरिरहेका छौं।
चार-पाँच सय वडा सभापतिहरू भने राजनीतिक कारण सिष्टममा प्रवेश नगरेको हुन सक्छ। यसबारे हामी कारण खोज्दैछौं। यदि पार्टी निर्णय अटेरी गरिएको रहेछ भने विकल्प खोज्न बाध्य हुन्छौं। बाँकी वडा सभापतिहरू भोलिसम्म सिस्टममा प्रवेश गरी क्रियाशील सदस्यता इन्ट्री गराउन लाग्नुहुन्छ।