अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई थर्काएका छन्।
इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका हुन्।
त्यसबाट आक्रोशित ट्रम्पले नेतन्याहूलाई अपशब्द नै प्रयोग गरेर थर्काएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
उनीहरूबीच सोमबार टेलिफोन संवाद भएको थियो। आक्रोशित भएर ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको छ।
फोनवार्ता हुँदा ट्रम्प अत्यधिक रिसमा प्रस्तुत भएको त्यसबारे जानकार दुई अमेरिकी उच्च अधिकारी र अर्का एक स्रोतलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ।
फोन वार्ता सुरू हुनासाथ ट्रम्प 'तिमी के गरिरहेका छौ?' भनेर चिच्याएका थिए।
'तिमी पागल हौ? के गरेको? म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। तिमीलाई मैले बचाइरहेको छु। सबैले तिमीलाई घृणा गर्छन्। त्यसकारण इसराइललाई पनि अहिले धेरैले मन पराउन छाडेका छन्,' ट्रम्पले नेतन्याहूलाई कड्किएर भनेका थिए।
एक अमेरिकी अधिकारीका अनुसार त ट्रम्पले बेरुतमा आक्रमण योजना कार्यान्वयन गरे इसराइल विश्वभर थप एक्लिने चेतावनी समेत दिएका थिए भनेर एक्सियसले लेखेको छ।
फोनवार्तापछि ट्रम्पले इरानसँगको वार्ता तीव्र गतिमा जारी रहेको भनेर आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका थिए।
नेतन्याहूले भने फोनवार्तापछि जारी वक्तव्यमा हिजबुल्लाहले इसराइलमाथि आक्रमण रोक्न नसके बेरुतका लक्ष्यमा हमला गरिने ट्रम्पलाई जानकारी गराएको बताएका छन्। उनले दक्षिणी लेबननमा इसराइलको सैन्य अभियान जारी रहने पनि स्पष्ट पारेका छन्।
'हाम्रो अडान उही छ,' नेतान्याहूले भनेका छन्।
तर टेलिफोन वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले भने ट्रम्पले थर्काउँदा नेतन्याहूले 'ठिक छ। सबै ठिक छ। सबै कुरा व्यवस्थापन भएको सुनिश्चित गर्नुस्,' भनेर उत्तर दिएको बताएका छन्।
सोमबार नै इरानले लेबननमा इसराइली कारबाहीका कारण अमेरिकासँग चलिरहेको वार्ता छाड्न सक्ने चेतावनी दिएको थियो। त्यसैबीच ट्रम्पले नेतान्याहूलाई इसराइलको कदमप्रति कृतघ्न रहेको आरोप लगाएका थिए।
इसराइलमाथि हिजबुल्लाहले आक्रमण गरिरहने हुनाले इसराइलले आफ्नो सुरक्षा गर्न आवश्यक हुने भनेर ट्रम्पले बुझे पनि पछिल्लो दिनमा नेतन्याहूले अत्यधिक रूपमा सैन्य तनाव बढाएको महसुस उनले गरेका छन्।
लेबननमा धेरै सर्वसाधारण मारिएको घटनाले पनि ट्रम्प चिन्तित रहेको बताइन्छ। हिजबुल्लाहको कमान्डरलाई निशाना बनाउन पूरै भवन नै ध्वस्त पार्ने इसराइली रणनीतिमा पनि ट्रम्पले असहमति जनाएका छन्।
यसअघि पनि ट्रम्प र नेतान्याहूबीच तनावपूर्ण संवादहरू भएका थिए।
इरान युद्धबारे ट्रम्प र नेतन्याहूबीच मतभेद छ।
ट्रम्प तत्काल अर्को भीषण आक्रमणभन्दा सम्भावना बाँकी रहुन्जेल वार्ताबाटै इरानसँग सम्झौता गर्न चाहन्छन्। नेतन्याहू इरानमाथि भीषण हमला गर्नुपर्ने भनेर ट्रम्पलाई दबाब दिँदै आएका छन्।
दुई साताअघि ट्रम्पले इरानमा भीषण हमलाको तयारी गरेर अन्तिममा रोकेपछि नेतन्याहू ट्रम्पप्रति असन्तुष्ट थिए।
त्यसो त यसअघि फेब्रुअरी २८ मा आक्रमण गरेपछि युद्धविराम पनि इसराइललाई थाहै नदिइ गरेको थियो। त्यसबाट पनि इसराइल असन्तुष्ट थियो।