पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
उनका अनुसार झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ र लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग भएको हो।
अहिले सिंहले धरौटी बुझाउन प्रक्रिया गरिरहेका छन्।
सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ गरी अदालतमा पेस गरेको हो।
पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज.महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नगरप्रमुख राजेशमानले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोप छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप राजेशमानमाथि लागेको छ।
त्यही कसुरमा राजेशमान विरूद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ।