भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा रेस्टुरेन्टमा भीषण आगलागी भएको छ।
नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ नामक रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
घटनामा दर्जनौँ घाइते भएका छन् भने मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
आगलागीपछि दिल्ली अग्नि सेवा, दिल्ली प्रहरी र अन्य उद्धार टोली परिचालन गरिएको छ।
बिहान करिब ८:५० बजे घटनास्थलमा धेरै दमकल पठाइएको थियो। उद्धारका लागि दुई वाटर टेन्डर, दुई वाटर बाउजर, द्रुत प्रतिक्रिया सवारीसाधनसहित आपत्कालीन उपकरण परिचालन गरिएको थियो।
रेस्टुरेन्टको बेसमेन्टबाट तीन जनाको उद्धार गरिएको जनाएको छ। उनीहरूलाई क्याट्स एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई साकेतस्थित म्याक्स अस्पतालमा लगिएको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल पुर्याइएका ३९ जनामध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो। १५ जना आईसीयूमा उपचाररत छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको जनाइएको छ।
पाँच जनालाई सामान्य चोटपटकपछि डिस्चार्ज गरिएको छ।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।
मुख्यमन्त्री रेखा गुप्ताले सामाजिक सञ्जाल एक्समार्फत सरकारको निगरानीमा उद्धार कार्य भइरहेको बताउँदै दिल्ली अग्नि सेवा, प्रहरी, दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटी र क्याट्स एम्बुलेन्स सेवा तत्काल परिचालन गरिएको जानकारी दिएकी छन्।