चिनियाँ राष्ट्रपति सी चिनपिङ आउने साता उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।
विगत तीन हप्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनमा स्वागत गरेपछि सी सोमबार उत्तर कोरिया जाँदैछन्।
किम जोङ उनको निमन्त्रणामा सन् २०१९ यता पहिलो पटक प्योङयाङको भ्रमण गर्ने चीनको सरकारी आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार जनाएको छ। ।
किमले आफ्नो देशमा कूटनीतिक गतिविधिलाई तीव्र बनाइरहेको र बाह्य संसारलाई आफ्नो विस्तारित आणविक हतियार प्रदर्शन गरिरहेको समयमा सीको यो भ्रमण हुन लागेको हो।
गत महिना ट्रम्प र पुटिनसँगको उच्चस्तरीय शिखर वार्ता पछि हुन लागेको यो भ्रमणले सीलाई बढ्दो रूपमा विभाजित बन्दै गएको विश्वमा सबै पक्षसँग संवाद गर्न सक्ने सीमित शक्तिहरूमध्ये एकका रूपमा चीनलाई प्रस्तुत गर्ने अवसर दिनेछ। किमसँगको भेटले अमेरिका र रुसलाई उत्तर कोरियाली शासकमाथि चीनको प्रभाव रहेको स्मरण गराउनेछ।
तर त्यो प्रभावको पनि आफ्नै सीमाहरू छन्। चीनको वर्षौंदेखिको दबाबका बाबजुद उत्तर कोरियाले हालका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई तीव्र बनाएको छ। अनि रुसले युक्रेनमाथि आक्रमण गरेयता रुससँगको सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।
सन् २०१९ मा उत्तर कोरियाको अन्तिम पटक भ्रमण गर्दा सीले किमलाई अमेरिकासँगको आणविक वार्तामा प्रगति गरोस् भन्ने विश्वको चाहना रहेको बताएका थिए।
पहिलो कार्यकालमा ट्रम्पले किमसँग तीन पटक भेटवार्ता भएको थियो। तर पनि उनले किमलाई आफ्नो आणविक कार्यक्रम नियन्त्रण गर्न मनाउन सकेनन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)